नोबेलको लापरबाहीले फेरि एक बिरामीको मृत्यु, अस्पताल तनाबग्रस्त
विराटनगर, नोबेल अस्पतालको लापरबाहीले आज फेरि एक जना महिलाको मृत्यु भएको छ । किड्नीको बिरामी रहेको विराटनगर ३ निवासी ५१ वर्षीय महिलाको स्वास्थ्यकर्मीकै लापरबाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन् । बिरामीको मृत्युपछि आफन्तहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका–३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ ७ः३० बजेतिर मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेकाे छ । पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएकोभन्दै उनलाई छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि ६ः३० बजेतिर अस्पताल लगेका थिए ।
बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएकोभन्दै आफन्त र स्थानीय बासिन्दा नाराबाजी, प्रदर्शन र तोडफोडमा उत्रिएका हुन् । सामान्य अवस्थाकी महिलालाई उपचारका लागि लिएको तथा उपचार सुरु गरेको केही बेरमै अवस्था गम्भीर बन्दै गए पनि आईसीयू र भेन्टिलेटरमा राखेर थप उपचार गर्ने व्यवस्था नमिलाइएकोभन्दै आफन्त र स्थानीय आक्रोसित बनेका थिए ।
आक्रोसित भीडले चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि हातपात र दुरव्यवहार गरेको अस्पतालले जनाएको छ । ढुंगामुडा गर्दै उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठी चार्ज गरेको बताइएकाे छ।