मानव बेचबिखनको मुद्धामा २२ वर्षीया युवती कारागार चलान
महेन्द्रनगर, कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई कारागार चलान गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको हो।बिहिबार भएको थुनछेक बहसपछि अदालतले युवतीलाई पुर्पक्षका लागि कारागार चालन गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयकट प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले दिएको जानकारी दिए ।
उक्त आदेशपछि गिरीलाई कारागार चलान गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।
सोही मुद्दामा पक्राउ परेका मदिरा व्यवसायी राजेन्द्र प्रसाद भट्ट र ठेक्कापट्टा व्यवसाय गर्ने राजेन्द्र गिरी भने साधारण तारेखमा छुटेको उनले जानकारी दिए।
गत असोज १२ गते दोधाराचाँदनीको चोरी बाटो हुँदै १५ वर्षीया किशोरीलाई बेचबिखन गर्न भारत लगिरहेको भन्ने सूचनाका आधारमा माइती नेपाल र प्रहरीको संयुक्त टोलीले २२ वर्षीया गिरीलाई पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा मानव बेचबिखनको उक्त मुद्दामा संलग्नता देखिएको भन्दै प्रहरीले १९ असोजमा मदिरा व्यवसायी भट्ट र गिरीलाई पनि पक्राउ गरेको थियो।