ओली- प्रचण्डले घुस खाएको प्रमाणित गर्न बाबुरामलाई नेकपाको चुनौती

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार गरेको भनी लगाएको आरोप प्रमाणित गर्न डा बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।

बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्षद्वयमाथि भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको उल्लेख गर्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेका हुन् । श्रेष्ठले कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती पनि दिएका छन् ।‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौँ ।

’उनले भनेका छन्, ‘यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ । तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ ।’