मुख्यमन्त्री शाही विरूद्धको हस्ताक्षर फिर्ता गराउने तयारी
काठमाण्डौ, कर्णाली प्रदेश ने क पाका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरूद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न केन्द्रले पहल चालेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका प्रदेश सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन भनेका छन् । आईतबार शाही विरूद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ३३ जना मध्ये १८ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि संसदीय दलमा शाही अल्पमतमा परेका छन् । संसदीय दलमा अल्पमतमा परेसँगै उनको सरकार पनि ढल्ने भएपछि केन्द्रमा प्रचण्डले सक्रियता बढाएका हुन् । प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपाललाई भेटेर कर्णालीमा जे भइरहेको छ त्यसले पार्टी एकताको स्प्रिरिटलाई धक्का पुग्ने बताएका थिए । ‘प्रधानमन्त्रीसँग उहाँले पार्टी एकता, हालै सम्पन्न स्थायी कमिटी र सचिवालय बैठकले गरेका निर्णय विपरीत कर्णालीमा अविश्वासको प्रस्ताव आएको बताए प्रचण्ड निकट स्रोतले भन्यो ।
जवाफमा प्रधानमन्त्री ओलीले यो प्रदेशको आन्तरिक मामिला भएको र त्यहाँ साथीहरू बीच पहिला नै आलोपालो सरकार चलाउने कुरा भएको बताएका थिए । प्रचण्डले आलोपालोको कुरा त केन्द्रमा पनि भएको उल्लेख गर्दै कर्णालीमा भइरहेको मुख्यमन्त्री फेर्ने खेल प्रधानमन्त्रीले रोक्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीसँग भेटे लगत्तै प्रचण्डले बरिष्ठ नेता नेपालसँग पनि कुरा गरेका थिए । शाही विरूद्ध हस्ताक्षर गर्ने मध्ये ८ जना सांसद नेपाल निकट छन् । उनले पनि अहिले सरकार फेर्न उपयुक्त नहुने भन्दै सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन लगाउनुपर्ने बताएका छन । आज उनिहरले फिर्ता लिन्छन होला । शाही विरूद्धको अविश्वास हस्ताक्षर फिर्ता गराउन केन्द्रमा प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य जनार्दन शर्मा सक्रिय भएका छन् भने वीरेन्द्रनगरमा नेपाल पक्षधर केन्द्रीय सदस्य निरज आचार्य लागेका छन् । जाजरकोटका आचार्य अहिले वीरेन्द्रनगर मै छन् ।
अहिलेसम्म पूर्व माओवादीबाट सांसद बनेका दुई र नेपाल पक्षका केहीले हस्ताक्षर फिर्ता लिने टुंगो भएको मुख्यमन्त्री शाहीनिकट स्रोतले बतायो । दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीले भने हस्ताक्षर फिर्ता लिन अस्वीकार गरिरहेका छन् । अन्तिममा उनले पनि हस्ताक्षर फिर्ता लिने पूर्वमाओवादीको विश्वास छ । माधव नेपाल पक्षका एक सांसदले भने केन्द्रले भने पनि नभने पनि आफूहरूले हस्ताक्षर फिर्ता नलिने बताएका छन् । हामीले सोचविचार गरेर निर्णय गरेका हौं । केन्द्रबाट यस्तो कुरा आउँछ भन्ने पनि हामीलाई थाहा थियो, सांसद सुशील थापाले भने, केन्द्रसँग सल्लाह नगरी हस्ताक्षर गरेकाले केन्द्रले भनेर हामी फिर्ता लिँदैनौं ।’ उनले आज दिउँसो १ बजे बैठक बसेर अविश्वास प्रस्ताव संसदीय दलबाट पारित हुने बताए । अविश्वासको प्रस्ताव दर्ता भएपछि दलको नेता अल्पमतमा परिसक्नुभयो, उहाँले प्रमुख सचेतकलाई हटाउन सक्नु हुन्न, थापाले भने, त्यसैले हामी आज बैठक बस्छौं र निर्णय गर्छौं । केही सांसदले हस्ताक्षर फिर्ता लिए भने तपाईंहरूको बहुमत नपुग्ला नि भन्ने प्रश्नमा उनले भने– हामीसँग अहिले मन्त्री भएका सांसदहरूको पनि हस्ताक्षर छ । हामी २२–२३ जना छौं । एक–दुई जनाले फिर्ता गरे भने पनि फरक पर्दैन ।