बन्दाबन्दीमा फरार सूचीका ४८ जना अभियुक्त पक्राउ

कञ्चनपुर, कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ ।

समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जबर्जस्तीकरणी उद्योग, चोरी, सवारी ज्यान, तस्करी, लागुऔषध कारोवार, आत्महत्या दुरुत्साहन र बहुविवाहलगायत मुद्दामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो । पक्राउ पर्नेमा चार महिला अभियुक्त समेत रहेका प्रहरीले जनाएको छ ।

‘जिल्ला अदालतबाट कैद सजाय तोकिए अभियुक्तलाई कारागार पठाउने र फैसला नभएको हकमा पुनः अनुसन्धान गर्ने काम हुँदैछ’, प्रवक्ता थापाले भने, ‘फरारमध्ये धेरै त घरमै अब प्रहरी खोज्दैन होला भनेर बसिरहेको अवस्थामा पनि भेटिए ।’ उनले अभियुक्त प्रक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतको युनिट सक्रिय रहेको जानकारी दिए ।

‘फरार पक्राउ गर्नमा हामीलाई मुद्दाका पीडितको पनि सहयोग छ’, उनले भने, ‘अपराध गरेर दुई–चार वर्ष फरार भए पनि एकदिन कानूनी सजायको भागीदार हुनैपर्छ ।’ कोरोना महामारीका बीच पनि प्रहरीले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै खटिएको उनको भनाइ छ ।

प्रदेशमा पाँच हजार प्रहरी परिचालन नजिकिँदै गरेका बडादशैं, तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आइतबारबाट विशेष सुरक्षा योजना लागू गरेको छ । अपराधरहित र मर्यादित चाडपर्व मनाउनुका साथै प्रदेशको समग्र सुरक्षा व्यवस्था भरपर्दा मनाउन विभिन्न विशेष प्रहरी टोली परिचालन गरिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले विज्ञप्ति जारी गरी दशैँ तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाएर प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरिएको बताए ।

‘यहाँका विभिन्न स्थानमा गरेर ४० वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ’, प्रवक्ता सिंहले भने, ‘सादा पोशाकलगायत विभिन्न टोली गरेर प्रदेशभरि पाँच हजार ५० जना प्रहरी खटिएका छन् ।’ चाडपर्व मर्यादित बनाई समग्र प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेशभरि ७८ जना सादा पोशाकमा प्रहरी खटिने छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोवार हुने स्थानलाई मध्यनजर गर्दै यहाँ १३३ जना प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न स्थानमा गरेर २०८ जना प्रहरी परिचालन हुनुका साथै उपभोक्ताको हकहिक संरक्षणका लागि चाडपर्वमा स्थानीय प्रशासनसित समन्वय गरेर बजार अनुगमन समेत गर्ने प्रहरी योजना छ ।