कर्णाली प्रदेशको विवादले केन्द्रमा हलचल, ओली-दाहाल छलफलमा
काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ।
मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र पूर्व माओवादी समूहका ३ जना सांसद विपक्षमा उभिएपछि अहिले मुख्यमन्त्री शाही अप्ठ्यारोमा परेका छन्। कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज छलफल गर्ने भएका छन्।
दाहालको सचिवालयका अनुसार दुईअध्यक्षबीच भेटवार्ता हुने भएको छ। तर, समय भने यकिन भइसकेको छैन। ‘कर्णाली प्रदेशमा उत्पन्न परिस्थितिका विषयमा दुवै अध्यक्षले चासो राख्नुभएको छ,’ दाहालको सचिवालयका एक सदस्यले भने,‘ आजको भेट त्यसै विषयमा केन्द्रीत हुन्छ होला।’
२६ भदौंमा सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन संघ र प्रदेशमा मन्त्रिपरिषद्को हेरफेर गर्न सकिने निर्णय गरेको थियो।उक्त विषयमा पार्टीको केन्द्रीय नेतृत्वमा छलफल अघि नबढ्दै कर्णाली प्रदेशमा विवाद देखा परेको हो। भेटवार्तामा पार्टी एकताको बाँकी काम सक्न आवश्यक प्रस्ताव तयार गर्ने विषयमा पनि उनीहरुबीच छलफल हुनेछ।
केहीसमयदेखि दुई अध्यक्ष छलफलमा रहे पनि ठोस प्रस्ताव ल्याउन सकेका छैनन्। त्यस्तै मन्त्रिपरिषद्को पुनर्गठन लगायतको काम पनि अन्यौलमा नै रहेको छ।नेकपाको ६ असोजमा बसेको सचिवालयको बैठकले १० दिन भित्र पार्टी एकताको बाँकी काम सक्ने प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी तोकेको थियो।