धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ

काठमाडौं, प्रहरीले धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको हो । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए ।

जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी लोकनाथ तिम्सिनाले बताएका छन । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी गरीएको थियो। भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।

यसअघि २०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी चरीलाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।