नयाँ पाठ्यक्रम लागू पुर्व शिक्षकलाई अभिमुखीकरणको माग
काठमाडौं, नेपाल शिक्षक महासंघले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नु भन्दा पहिले शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ। विहिबार शिक्षा पत्रकार समाजसँग गरिएको भर्चुअल छलफलमा महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम हुनुपर्छ भन्ने पक्षमा रहेपनि शिक्षकलाई पहिला तयारी नगराउँदा यसको सही कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्दै अभिमुखीकरण गर्न माग गरेका हुन। सो तहमा कार्यान्वयनमा ल्याउन नसकिने खालका धेरै ऐच्छिक विषय समावेश नगर्न पनि उनले आग्रह गरेका छन। अध्यक्ष थापाले भने,‘नयाँ पाठ्यक्रम प्रणालीअनुसार शिक्षकलाई सेवा आयोगको परीक्षामा भाग लिने योग्यताबारे तालमेल मिलाउन पनि अनुरोध गर्छु।’
विद्यालय समायोजन हुँदा शिक्षक कर्मचारीलाई हटाउन नहुने र दरबन्दी मिलान गर्दा प्रधानाध्यापकलाई दरबन्दी कायम नगर्ने सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै शिक्षक विद्यार्थी अनुपातको नयाँ मापदण्ड हिमाल, पहाड र तराईमा क्रमशः ३०, ३५ र ४० हुनुपर्ने उनले अडान राखे। राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्ले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप व्यवस्थानुसार कक्षा १० पछि माध्यमिक शिक्षाको निरन्तरता स्वरुप कक्षा ११ लाई जोड्दै ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ। यही शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइसकेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।