कोरोना निको नहुँदै कार्यालय फर्किए राष्ट्रपति ट्रम्प

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ६ दिनमै कार्यालय फर्किएका छन् । अस्पतालबाट घर गएको २ दिनमै उनी बिहीबारबाट कार्यालय जान थालेका हुन् । संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्दै ट्रम्प काममा फर्किएका हुन् ।

उनी २ अक्टोबरमा कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यसपछि अस्पताल भर्ना भएका उनी ४ दिनमै घर फर्किएका थिए । घर फर्किएको २ दिनपछि आजबाट कामका लागि कार्यालय जान थालेको बीबीसीले लेखेको छ ।

ट्रम्प काममा फर्किए पनि उनी कोरोना संक्रमण मुक्त भएका छैनन् । ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अझै पूर्णरुपमा ठीक भइसकेका छैनन् । तर, उनको स्वास्थ्य भने सुधारोन्मुख छ ।चिकित्सक सिन कोन्लेलाई उधृत गर्दै बीबीसीले लेखेअनुसार ट्रम्पलाई पछिल्लो २४ घण्टा कोरोनाको कुनै लक्षण देखिएको छैन भने ४ दिनदेखि ज्वरो पनि आएको छैन ।

ट्रम्पले आफु स्वस्थ भएकोमा भगवानलाई धन्यवाद दिदै आफुले जस्तै स्वास्थ्य सेवा र उपचार सबै कोरोना संक्रमित अमेरिकीहरुको पुहँचमा हुनुपर्ने बताएका छन् ।उनले कोरोना उपचारको लागि अमेरिकामा उत्पादित औषधि आफ्ना नागरिकलाई निशुल्क उपलब्ध गराउने आश्वाशन दिएका छन् ।