नेकपाका उपाध्यक्ष गौतमविरुद्धको रिटमाथिको सुनुवाइ आज नहुने
काठमाडौं, नेकपाका उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ।राष्ट्रिय सभा सदस्यमा मनोनीत गौतमको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ गर्ने भनेर तय गरिएको थियो।तर कोरोनाका कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो। गत शुक्रबार गौतम पक्षका वकिल धेरै भएका कारण सुनुवाइ नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
गौतमको मुद्दा संवैधानिक इजलास सुनुवाइ हुँदै आएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीश छन् । उनीहरुमध्ये अधिकांश आइसोलेसनमा छन्।न्यायाधीशहरू नै आइसोलेसनमा बसेपछि दैनिक ८(९ वटा इजलास बस्ने गरेकामा आज जम्मा दुईवटा मात्र इजलास तोकिएका छन्।अब यो मुद्दाको सुनुवाइ दसैं पछाडिसम्म धकेलिन सक्ने अदालत स्रोतको दाबी छ। कोरोनाका कारण तत्कालै न्यायाधीशहरु एउटै इजलासमा बस्ने सम्भावना छैन।
प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्।निवेदकले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनीतको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरीत भएको जिकिर गरेका छन्।