स्थायी राजधानी देउखुरीमा घोषणा भएपछि भालुवाङ बजार झकिझकाउ

भालुवाङ, प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । मंगलवार बेलुका भालुवाङ बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ ।

देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार राप्ती गाउँपालिका कार्यालय, पाखापानी, लालमटिया, मसुरीया, लमही, सिसहनियाँ, गढवा, घाेराही, हापुर, तुलसीपुर लगायतका विभिन्न बजार क्षेत्रमा दिप प्रज्वलन गरि एक आपसका खुसियाली साटासाट गरिएको छ । भालुवाङमा भएको द दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य गंगा चाैधरीले लालपुर्जा विहिन भालुवाङमा राजधानी ल्याइदिएको बताएकी छिन् ।

राजधानी अाएपछि अव भालुवाङबासीले लालपुर्जाको समस्याबाट छुटकारा पाउने र विकास निर्माणमा फट्को मार्ने बताएकी छिन् । यता लमहीमा भएको दिपप्रज्वलन कार्यक्रममा कार्यक्रममा बाेल्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले तत्कालै प्रदेश सरकार यता सरे पनि हामीले बुटवलको संरचना भन्दा कम नहुने बताए ।

उनले प्रदेश सरकारले नै निर्माण गर्न केहि वर्ष ढिला होला हामी यहाँका पालिकाहरुले निर्माण गरेका भवनहरुमा प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरु राख्ने बताए । लमही भित्रै ७० विघा ऐलानी जमिन छ । यता राप्ती गाउँपालिकामा पनि त्यति नै क्षेत्रफलको जमिन छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भने लमही नगरपालिका र गढवा गाउँपालिकामा पनि प्रशस्त ऐलानी जमिन छ । हामी तीनवटा पालिकाले संरचना नपुग्ने बेलासम्म बुटवलका भन्दा आलिशान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्न सक्छौं ।

यस्तै गढवा गाउँपालिका अथ्यक्ष सहजराम यादवले पनि प्रदेश सरकारलाई कुनै कुराको कमी हुन नदिने प्रतिवद्वता जनाएका छन् । प्रदेश ५ को प्रदेशसभाले मंगलबार प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशसभाको बैठकले स्थायी राजधानी दाङ र अर्घाखाँचीको भूभाग छोएको देउखुरी र नाम लुम्बिनी पारित गरेको हो। प्रदेश सभामा भएको मतदानमा नाम लुम्बिनी राख्ने पक्षमा ७९ जना र विपक्षमा ४ जनाले मतदान गरेका थिए ।

प्रदेश ५ मा कुल ८७ जना सांसद रहेकोमा ८३ जनाले मतदान गरेका थिए। यस अघि प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो। सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो ।