बाउ-छोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ

सुर्खेत, सल्यानमा बाबुछोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ परेका छन्। छत्रेश्वरी गाउँपालिका ७ का ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङका २३ वर्षे समीर मियाँ भन्ने ईमाम बक्स मियाँ पक्राउ रेका हुन्।

नाताले मुस्ताज ससुरा र समीर ज्वाइँ हुन्। छत्रेश्वरी गाउँपालिका वडा नं–७ को सिफारिसमा समीरले २०७५ भाद्र २४ गते मुस्ताज मियाँको छोरा समिर मियाँको नाममा नागरिकता लिएका थिए।

समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ हो। मियाँका बुवा विसमुल्ला मियाँ हुन् । दाङबाट पटक–पटक नागरिकताको लागि पहल गर्दा र सिफारिस गर्दासमेत नागरिकता नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवत्ता लक्ष्मण ओलीले जानकारी दिए।

दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।