मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलै नगरी नेकपा सचिवालय बैठक सकियो
काठमाडौं, नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको जानकारी दिए। यसबारे प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले बैठकमा कुनै जानकारी समेत नगराएको श्रेष्ठले बताए।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा अध्यक्षद्वयले गृहकार्य गरिरहेको र चाँडै टुंगोमा पुर्याउने उनको भनाइ छ। बैठकमा राजदूत नियुक्ति, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा सामान्य छलफल भएको थियो।
यस्तै पार्टीको सांगठनिक एकीकरणका बारेमा छलफल भए पनि कुनै निर्णय नभएको श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘यसबारे छलफल जारी छ।’ बैठकमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीलाई सरकारलाई अनशन अन्त्य गर्न गरेको अनुरोधसहितको विवरण जानकारी गराएका थिए।
केसी र सरकारबीच यसअघि भएका सम्झौता कार्यान्वयन भइसकेको र केही विषय कार्यान्वयन हुन बाँकी रहेकाले कोरोनाले पारेको बहुआयामिक प्रभावतर्फ केन्द्रित भएको र अन्य विषयमा पछि छलफल गर्न सकिने प्रधानमन्त्रीको भनाइ थियो।

