लाइसेन्सको होम डेलिभरी शुरु गर्ने तयारी

काठमाडौँ, नेपाली सवारी चालक अनुमतिपत्र लाइसेन्स लिने र नविकरण गर्ने काम सबैभन्दा झन्झिटिलो देखिन्छ । त्यसमाथि घुस नख्वाइ त कामै नहुने प्रथा चलिरहेको छ ।तर, अब त्यस्तो समस्याबाट नेपालीले मुक्ति पाउने संभावना बढेको छ । वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स वितरणको काम ‘होम डेलिभरी’ मार्फत् गर्ने तयारी गरेको छ । त्यसको लागि अहिले सफ्टवेयर बनाउने काम भैरहेको जानकारी मन्त्रालयले दिएको छ ।

यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहका अनुसार दशैं अगाडी नै ई टोकनमार्फत् चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गर्ने तयारी भैरहेको छ । ‘मोबाइलमा एसएमएसबाट हामी चालक अनुमतिपत्र, ट्रायल अथवा नवीकरण कुन सेवा कहिले लिन चाहेको भनेर सेवाग्राहीलाई सोध्नेछौँ र फलानो दिन तपाईँ आउन सक्नुहुन्छ भनेर हामी जबाफ पठाउनेछौँ । यो सेवा सुरु हुनासाथ सेवाग्राहीहरू यातायात व्यवस्था कार्यालय आएर घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने हाम्रो विश्वास छ’ शाहको भनाइ छ ।

अहिले होम डेलिभरी गर्दा अतिरिक्त शुल्क लिने कि नलिने र लिने भएमा कति लिने र नलिने भए त्यसको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।स्मरणरहोस काठमाण्डौको सानो भ(याङस्थित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स लिन दैनिक ७०० देखि १,००० को हाराहारीमा मानिसहरू लाइन बस्ने गरेका छन्, जबकि कार्यालयले दैनिक ४०० जनालाई मात्र टोकन दिने गरेको छ । त्यसले गर्दा सयौं मानिसहरु दिनभर लाइन बसेर रित्तै फर्कने गरेका छन् भने दलालहरुको विगविगी पनि बढ्ने गरेको छ