बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय
बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला समेटेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय बैठकले गरेको हो ।
बैठकले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय पनि गरेको छ सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री बरालले जानकारी दिए ।
यसैगरी रूपन्देहीमा रहेको अस्था राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिलाउन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । यसअघि सोमबार भएको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । चौधरीको प्रस्तावलाई नेकपा संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषदमा लगिएको थियो ।
मन्त्रिपरिषद्का निर्णय मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा लगेर पारित गराउने योजना थियो । तर, प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधले प्रदेशसभा बैठक चल्ने अवस्था नभएपछि पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरिने मन्त्री बरालले बताए ।