अफगानी ब्याट्सम्यान ताराकाईको निधन

काठमाडौं, अफगानिस्तानका दायाँ हाते ब्याट्सम्यान नजिब ताराकाईको निधन भएको छ। यही अक्टोबर २ मा सडक दुर्घटनापछि आईसीयूमा रहेका ताराकाईको मंगलबार निधन भएको हो।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘एसीबी र अफगानिस्तानी क्रिकेट प्रेमीहरुका लागि यो कठोर समय हो। हामीले मिलनसार व्यक्ति र २९ वर्षे आक्रामक ओपनिङ ब्याट्सम्यान नजिब ताराकाई गुमाएका छौं। सडक दुर्घटनाबाट ज्यान गुमाएपछि हामी यो खबरले स्तब्ध भएका छौं।’

उनले यही वर्षको सेप्टेम्बरमा भएको शापागिजा प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका थिए। तर गत शुक्रबार दुर्घटनामा परेपछि उनी नान्ग्रहरमा उपचाररत थिए। उनले अफगानिस्तानको राष्ट्रिय टिमबाट १२ टी–२० र एक ओडीआई खेलेका छन्। उनले सन् २०१४ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।

उनले सन् २०१७ मा आयरल्यान्डविरुद्ध ९० रन बनाएका थिए। यो उनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो। अफगानिस्तानका तर्फबाट उनले २४ पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन्। जहाँ उनले २०३० रन बनाएका छन्। त्यस्तै टी २० अन्तर्राष्ट्रियमा २५८ रन बनाएका छन्।