बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी
काठमाडौं, २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।
डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्।
केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम तथा फस्फोरसको मात्रा कमी हुनुका साथै मुटुको चाल घटबढ भइरहेको छ श्वासप्रश्वासमा धेरै गाह्रो हुन थालेपछि आइतबारदेखि केसीलाई अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ। डा. केसीले अक्सिजनबाहेक कुनै पनि उपचार लिन मानेका छैनन्।
नेपाल चिकित्सक संघले डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ भने केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले एप्रोनमै सडकमा निस्किएर प्रदर्शन गर्न थालेका छन्।
केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए उनलाई असोज ६ गते काठमाडौं ल्याइएको हो। सरकारले उनको माग सम्बोधनका लागि वार्ताको कुनै पहलसमेत गरेको छैन भने अनशन तोड्नका लागि आग्रहसमेत गरेको छैन।