प्रदेश ५ को राजधानी भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा दिपप्रज्वलन

भालुवाङ , प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा राप्ती गाउँपालिकाको विभिन्न ठाउँमा दिपप्रज्वलन गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न ठाउँमा शुक्रवार बेलुका दिप प्रज्वलन गरिएको हो ।

ती वडाका नागरिकहरु स्वत स्फूर्त रुपमा जम्मा भई वडा नम्बर ३ को राप्ती गाउँपालिका क्षेत्रको पुर्व पश्चिम सडकमा, त्यसै गरी नयाँबस्ती मिलनचोक, बागढड्डी मसरीया चोक र वडा नम्बर ४ को पेट्रोल पम्प मौरीघाटमा दिपप्रज्वलन गरिएको स्थानीय तुला गिरीले जानकारी दिएका छन् । दिपप्रज्वलन गर्दै उनीहरुले प्रदेश नम्बर ५ को राजधानी दाङ हो, नेपाल र नेपालीको शान हो भन्दै नारा लगाएका थिए ।

उनीहरुले विगतका दिनमा अस्थायी राजधानी बनाउने बेला दाङले धोका खाएको भन्दै फेरी पनि कतै झुक्किाएर फेरि पनि स्थायी राजधानी बुटवल त लैजाने होइन भन्ने शंका उत्पन्न भएकाले त्यसको दवाव सिर्जना गर्दै खुसीयाली मनाइएको बताइएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजार क्षेत्रलाई केन्द्रमा राखेर राप्ती, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो ।