१८ घण्टापछि उठ्यो एक किशोरीको शव

बलात्कारपछि हत्या भएको अनुमान

रौतहट, रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव १८ घण्टापछि उठाइएको छ । प्रहरीको डगटोलीले घटनास्थलको तीन घण्टा लगाएर अनुसन्धान गरेपछि शव उठाइएको हो ।प्रहरीले अपराधी पत्ता लगाउन विशेष तालिम प्राप्त कुकुर लगाएर आज शनिबार बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म घटनास्थलको अनुसन्धान गरेको थियो । शव भेटेको झण्डै १८ घण्टापछि प्रहरीले किशोरीको शव पोष्टमार्टमका लागि लगेको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट गएको डग टोलिले घटनास्थलको सुक्ष्म अनुसन्धान गरेपछि किशोरी संझाको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल लगिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिएका छन् ।
किशोरीको शव पोस्टमर्टमका लागि नारायणी अस्पताल पठाएको प्रहरी उपरीक्षक साहले जानकारी दिएका छन् ।

मावली घरमा बस्दै आएकी १६ वर्षीया किशोरीको शुक्रबार घाँस काट्न गएको बेला बलात्कारपछि हत्या भएको थियो । रौतहटको गढीमाई नगरपालिका १ बस्ने सीताराम साहकी १६ वर्षीया छोरी संझाको हत्या कसले गर्‍यो अहिलेसम्म खुलिनसकेको प्रहरीले बताएको छ ।शुक्रबार बिहान ९ बजे घाँस काट्न गएकी संझाको शव नग्न अवस्थामा वृन्दावन नगरपालिका ४ पल्टुवा टोलस्थित बागमती नहरको छेउमा दिउँसो ३ बजे फेला परेको थियो ।

दिउँसोसम्म घर नआएकी परिवारका सदस्यले उनको खोजी थालेका थिए । साँझ बाख्रा चराउन गएका स्थानीयले शव देखेपछि गाउँले र प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको अनुमान स्थानीयबासी र प्रहरीको छ । अपराधी पत्ता लगाउन घटनास्थलको सुक्ष्म अनुसन्धानका लागि प्रहरीले रातभरि संझाको शवलाई घेरा हालेर राखेको थियो ।