वैद्य विद्यार्थी संगठनले माग्यो प्रधानमन्त्री ओलिको राजीनामा
काठमाडौँ, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीले काठमाडौँको माइतीघर मण्डलाबाट प्रधानमन्त्री केपी शर्मा ओलिको राजीनामा माग गरेको छ ।
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको उक्त सङ्गठनले राष्ट्रिय स्वाधीनता, जनजीविका तथा कोरोना महामारी नियन्त्रणमा सरकारले गैरजिम्मेवारीपन देखाएकाले प्रधानमन्त्री वलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो ।मण्डलामा आयोजित विरोधसभामा सहभागी विद्यार्थीहरूले सरकारविरुद्ध नारा पनि लगाएका थिए । कार्यक्रममा उक्त सङ्गठनका अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने र महासचिव पेशल दाहालले राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाल, शिक्षा, स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरण तथा माफियाकरण, हत्या, हिंसा र बलात्कारका विषयमा सरकारले फासिवादी चरित्र देखाएको बताएका थिए ।
वक्ताहरूले नेपालका लिम्पियाधुरासहितका भारतीय साम्राज्यवादद्वारा अतिक्रमित भूमि फिर्ता गर्न, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, शिक्षा र स्वास्थ्यको जिम्मेवारी बहन गर्न र हत्या, बलात्कारका घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।