राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको आरोप
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखापरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडालाई अमेरिका र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। जुन निर्णयको बारेमा पार्टीलाई कुनै पनि जानकारी नगराइएको एक सचिवालय सदस्यले अबगत गराए ।
गत भदौ २६ गते सम्पन्न नेकपाको स्थायी समिति बैठकले सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो तर, प्रधानमन्त्री ओलीले आफुखुसी राजनीतिक नियुक्ती गरेकोमा ती सचिवालय सदस्यले असन्तुष्टि जनाए ।
‘सचिवालयमा गरिने छलफल, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्रिपरिषद र मन्त्रिपरिषदको पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ स्थायी कमिटीको निर्णयमा उल्लेख छ ।