मङ्गल ग्रहमा पानीका तालहरु भेटिए
एजेन्सी, मङ्गल ग्रहमा पानीका तालहरु भेटिएका छन् । त्योसंगै त्यहां प्राणीको अस्तित्वसमेत हुन आशंका व्यक्त गर्दै वैज्ञानिकहरुले अनुसन्धान तीब्र थालेका छन् । युरोपियन स्पेस एजन्सी ईएसएको मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो ।उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ । सन् २०१८ मा अध्येताहरूले उक्त यानको मद्धतबाट मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि खोजविन गर्दा २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको पाएका थिए ।
अनुसन्धानमा संलग्न रहेका इटलीको नेशनल इन्स्टिट्यूट अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा रोबेर्टो ओरोसीको भनाई उल्लेख गर्दै विविसीले मंगल ग्रहमा पानीका यी प्रणालीहरू विगतदेखि नै थिए र, त्यसले गर्दा जीवको वासस्थान थियो वा वासस्थानकै थियो भन्ने देखाउने गरेको उल्लेख गरेको छ ।जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ । ताल भेटिएसंगै मंगल ग्रहमा जीवनको अस्तित्व हुन सक्ने आशंका गरिए पनि अहिले भेटिएका तालहरू अत्यधिक नुनिनो भएकोले यसै भन्न सकिने अवस्था छैन । किनकी नुनीलो पानीमा कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ।
डा ओरोसीका अनुसार अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए । तालहरु वाहेक पानीका अरु स्रोतहरु छन् कि छैनन भन्ने बारेमा अहिले खोजी भैरहेको छ ।उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो । तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन । “त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो,“ उनी भन्छन्।
इटलीको रोमा ट्रे यूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेली भन्छिन्, “हामीले सन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि गरेनौँम थप तीनवटा उज्ज्वल क्षेत्र पनि भेट्यौँ। “