इप्रका भालुवाङको नयाँ प्रहरी प्रमुखमा (भुवन भट्ट)
भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक भुवन भट्ट आएका छन् । केही दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुको संघीय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रूपमा भट्ट प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौं श्रव्यदृश्य शाखाबाट भर्खरै सरुवा भएर दाङको भालुवाङमा आएका हुन् । सरूवा भएर आए लगत्तै पहिलो पटक प्रहरी प्रमुख भट्टले सोमवार प्रहरी कार्यालयमै राप्ती गाउँपालिका क्षेत्र भित्रका पत्रकारहरु सँगको भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् । पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा पत्रकारहरू संग कुरा गर्दै प्रहरी प्रमुख भट्टले आफ्नो कार्यकालमा अपराध रहित समाजको निमार्ण गर्ने बताएका छन् । उनले राप्ती गाउँपालिका सहित आफ्नो कार्यक्षेत्र भित्र शान्ति सुरक्षा अमनचयन कायम राख्ने बताए ।
प्रहरी प्रमुख भट्टले समाजमा हुने अपराधिक क्रियाकलाप हत्या, हिंसा, दुर्घटना लगायतका विषयमा विभिन्न सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरु संग परामर्श लिने पनि बताएका छन् । प्रहरी निरिक्षक भट्टले जनचेतनामुलक कार्यक्रमबाट अपराध रहित सभ्य समाजको निमार्ण गर्ने योजना रहेको पनि बताए । साथै उनले प्रहरीको आचार र व्यवहारमा परिवर्तन गरी नागरिक र प्रहरी बीचको सम्बन्धलाई नङ मासुको जस्तै बनाउने तथा प्रहरी साझेदारी कार्यक्रम अनुसार अगाडी बढ्ने, कसैको दवाफमा नपरी निष्पक्ष तरिकाले अनुसन्धान गर्ने, पिडितलाई न्याय तथा पिडकलाई कडा कारवाही गर्ने पनि बताएका छन् ।
भने केहि घटना समाजबाट मिल्ने खालका भए समाजकै अग्रजहरुको सल्लाह सुझाव अनुसार मिलाउने पनि बताएका छन् । पत्रकार भेटभाट कार्यक्रममा देउखुरी टुडे पत्रिका, अनलाइन, टिभी तथा युटुवका प्रकाशकरसम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, एवीसी सञ्चार तथा न्युज २४ अनलाइनका प्रतिनिधी विदुर एमसी, राप्ती अनलाइनका भिसुन शाही, राप्ती पोष्टका प्रतिनिधी जमिर शाहा, पत्रकारहरु सन्तोष थापा, रितु राना लगायतका सहभागिता रहेको थियो । प्रहरी निरीक्षक भट्टले आजैबाट कामकाज सुरु गरेका छन् ।