विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु
विराटनगर , विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी-७ की ६८ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा. निदेश सापकोटाका बताए । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो ।
मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो।त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।
कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । यादबका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।