ओली र दाहाल भेटवार्ता निष्कर्ष बिहिन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच करिब ३ घण्टा लामो छलफल भएको थियो । आजको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको स्रोतले बताएको छ । तर, निष्कर्षमा भने अझै पुगेको छैन ।६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा सरकारको आवश्यकता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय भएको थियो ।सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिइएको थियो ।

यसो छ सरकारको रणनीति

सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ।

संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी बनेको छ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने भएको छ । त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी दुई अध्यक्षबीच छ।