कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९, बाँके गाउँका ४७ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ५ बजे मृत्यु भएको हो ।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते राती ८:२५ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा भदौ २९ गते स्वाब संकलन गरिएको र भदौ ३१ गते मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसङ्गै उनलाई भदौ ३१ गते राती ८:२५ बजे अस्पतालको कोभिड १९ आइसोलेसन सेक्सनमा भर्ना गरी उपचार शुरु गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

उपचारको क्रममा प्लाज्मा थेरापी लगायतका बिधिबाट उपचार गर्दागर्दै आइतबार बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतक व्यक्तिको दुबै तिरको फोक्सोमा निमोनिया, मधुमेह लगायतका स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ ।

उनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रशासनिक बिभागमा कार्यरत कर्मचारी रहेको उक्त नोटमा उल्लेख गरिएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।