सडक बनाउन थुपारिएको गिट्टी बालुवा क्रसर उद्योगले स्काभेटर र टिप्पर प्रयोग गरेर चोरी
भालुवाङ ,देउखुरीको एक क्रसर उद्योगका सञ्चालक चोरीमा संलग्न भएको तथ्य फेला परेको छ । कालाकाटे—गढवा सडक खण्ड निर्माणका लागिे जिम्मा पाएको ब्रजगुरु कान्छाराम जेभी घोराही दाङले लकडाउनको समयमा गत बैशाख र जेठमा राप्ती नदीबाट डम्पिङ गरी गढवा—१ पत्रिङगा र जेठान गाउँको उत्तर बीचमा राप्ती नदीको किनारामा घाटगद्दी राखेको थियो ।उक्त घाटगद्दी राखेको नदीजन्य पदार्थ ९गिट्टी, मिस्कट लाई गढवा गाउँपालिका वार्ड नम्बर १ टडहा स्थित दक्षिणकाली क्रसर उद्योगले नदीजन्य पदार्थ गिट्टी, मिस्कट स्थलबाटै स्काभेटर, मेसिन प्रयोग गरी घाटगद्दी स्थलबाटै सितगंगा नगरपालिका ८ हात्ती ढुङगामा रहेको केभेजी क्रसर उद्योग र गढवा गाउँपालिका १ दाङ स्थित देउखुरी भ्याली क्रसर उद्योगमा बिक्री गरिरहेको तथ्य फेला परेको हो ।
घटना विवरण अनुसार गढवा कालाकाटे हुलाकी सडक खण्ड निर्माणका लागि घाटगद्दी स्थलबाट यसरी दिनदाहडै खुलेयाम नदीजन्य पदार्थ चोरी भइरहेको पाइएको छ । दक्षिणकाली क्रसर उद्योगले त्यहाँ एउटा स्काभेटर मेसिन प्रयोग गर्नुका साथै एक जना मजदुरलाई राखेर गैरकानुनी रुपमा घाटगद्दी स्थलमै भ्याट बिल कटाइएको छ, भने अन्य सामान्य बिलहरु प्रयोग गरिएको छ । स्थानीयहरुले विगत हप्ता १० दिन देखि सडकमा विछ्याउने नदीजन्य पदार्थ कसरी क्रसर उद्योगहरुमा निकासी भइरहेको छ, भन्ने बारे खोजी खवरी गरिदिन राप्ती नदी तथा पर्यावरण संरक्षण समिति भालुवाङका पदाधिकारीहरुलाई गोप्य सुचना दिएपछि समितिका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्मा, कोषाध्यक्ष प्रेम जिसी, सहसचिव विपी खनाल लगायतका पदाधिकारी र सञ्चारकर्मीहरुको एक टोली असोज १० गते शनिवार दिउँसो २ बजे घटनास्थल पुगेको थियो । टोली त्यहाँ पुग्दा दक्षिणकाली क्रसर उद्योगको स्काभेटर प्रयोग भइरहेको र १० वटा जति टिप्पर घाटगद्दी स्थलबाट लोड गरी माथि उल्लेखित क्रसर उद्योगहरुमा निकासी गरिरहेको पाइएको थियो ।
त्यहाँ गैरकानुनी ढंगले बिल प्रयोेग गरिएको तथ्य फेला परेपछि राप्ती नदी तथा पर्यावरण संरक्षण समितीले उक्त अबैध बिलहरु आफ्नो कब्जामा लिएको थियो । जसमा प्रयोग गरिएको बिलमा १८८ ट्रिपका बिल मध्ये ३४ वटा बिलको भ्याट बिल काटिएको र अन्य १५४ वटा फर्जी बिल रहेको कागजात त्यहाँ खटाइएका कामदारबाट बरामद गरिएको समितीका सचिव होमप्रसाद शर्माले जानकारी दिए । यसरी दिनदहाडै नदीजन्य पदार्थ एउटा जिम्मेवार क्रसर उद्योगले कसरी चोरी गरिरहेका भन्ने रहस्य भने अझै खुल्न बाँकी छ । यसरी दिनदहाडै प्रहरी प्रशासनकै अगाडिबाट नदीजन्य पदार्थ चोरीमा हुनुमा गढवा गाउँपालिका, प्रहरी, प्रशासनको समेत मिलोमतो रहेको स्थानीयबासीको आरोप छ ।
यस बिषयमा ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक भरतसिंह राठौरलाई समितीका अध्यक्ष टोपबहादुर कार्कीले फोन मार्फत जानकारी गराउँदा जवाफमा राठौरले त्यसबारे आफु अनविज्ञ भएको जवाफ दिएका थिए, भने घटनास्थलमा बोलाउँदा प्रहरीभ्यान अहिले कार्यालयमा नरहेको भन्दै आउन नसक्ने गैरजिम्मेवारी जवाफ दिएको समसतीका अध्यक्ष कार्कीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
यसरी समितीले बरामद गरेको अवैध बिलहरु कालाकाटे प्रहरी पोष्टका इन्चार्ज उज्वल शाहीलाई समितिका अध्यक्ष टोपबहादुर कार्कीले आवश्यक कारवाहीका लागि जिम्मा लगाएका छन् । राष्ट्रिय गौरवको आयोजना निमार्णको बाहाना बनाई राप्ती नदी र साहयक नदीहरुबाट नदीजन्य पदार्थ गिट्टी, मिस्कट अवैध उत्खनन् संकलन गरेर माफियाहरुले महादोहन गरिरहेका छन् । यसमा स्थानीय गाउँपालिका, प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, संघ तथा प्रदेशका जनप्रतिनिधिहरु, जिल्ला समन्वय समिति लगायत नियमन निकायका अगुवाहरु समेतको सेटिङ र मिलेमतोबाट यस प्रकारका कार्य भइरहेको भनि यो घटनाले स्तह पुष्टि गरेको छ । भने दोषीलाई कडा कारवााही हुनुपर्ने स्थानीयबासीहरुले माग पनि गरेका छन् ।