धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ सदस्य विस्थापित

भालुवाङ , कपिलबस्तु जिल्लाको उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ जना सदस्य विस्थापित भएका छन् । सितगंगा नगरपालिका वडा नम्बर १० उपल्लो धानखोलामा लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासी पहिरो खस्दा अर्घाखाँची निवासी देवकला रावतका १२ जना घर परिवार विस्थापित भएका हुन् ।

खाना खाएर सबै परिवार सुत्ने तयारीमा रहेका बेला राती २ बजे एक्कासी घर माथिबाट ठूलो ढुंगा खसेको थियोे । त्यसको विहान ८ बजे एक्कासी माथि पहाड वनको भागबाट पहिरो झरेर घर पुरिएको हो । माथिबाट खसेको पहिरोले घर पुरिदा घरमा रहेको सामान र कागजात जोगाउ खोज्दा पहिरोले २६ वर्षिय कान्छो छोरो अशोक रावतको खुट्टामा गम्भीर चोट लागेको छ ।

अन्य घर परिवारलाई भने केही भएन । छोरालाई उपचारको लागि बुटवल अस्पतालमा भर्ना गरेको पिडित देवकला रावतले बताएकी छिन् । घर पुरिएपछि छरछिमेकीको घरमा आश्रीय लिएर खाना खादै आएको रावतका श्रीमान् यज्ञबहादुर रावतले दुखेसो पोखेका छन् ।