लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष कारागार चलान
रामेछाप, रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश स्वीकृति पराजुलीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।
प्रहरीले साउन ३० मा खड्कालाई पक्रेर मुद्दा चलाएको थियो । खड्काबारे ३ वटा मुद्दामा अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयका अनुसन्धान प्रतिवदेन बुझाएको थियो ।
‘बलात्कार, शरीरबन्धक र ठगी मुद्दामा अनुसन्धान गरेका थियौं’ जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी बसन्त पाठकले रातोपाटीसँग भने, ‘अदालतबाट मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएपछि उहाँलाई जिल्ला कारागारमा पठाइएको छ ।’
लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सडकको नाला बनाउने उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई उनले बन्धक बनाएर जबजरस्ती चेकमा हस्ताक्षर गर्न लगाएका थिए । साउन २१ मा गाउँपालिकाको कार्यालयमा उपभोक्ता समितिको चेकमा हस्ताक्षर गराएर पैसा निकाल्ने हर्कत गरेपछि घिसिङले उनीविरुद्ध जिप्रकामा जाहेरी दिए ।
त्यस्तै, खड्काले १० महिनाअघि धोवीस्थित गाउँपालिकाले भाडामा लिएको ‘कर्मचारी निवास’मा ३१ बर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुर गरेकी छिन् ।
उनीविरुद्धको अर्को मुद्दा हो, ‘ठगी ।’ धोवीका दुईजना स्थानीयबाट ‘गाउँपालिकाले किन्ने’ भन्दै उनले २१ रोपनी जग्गा पास गर्न लगाए । सो जग्गा खड्काले साली नाता पर्ने उस्मिता गुरुङको नाममा पास गराएका थिए । गाउँपालिका कार्यालय भवन बनाउन भनेर किनको सो जग्गाका धनीलाई पालिकाको बजेटबाट दुई करोड दिने सहमति भएपनि उनले सो पैसा दिएनन् । जग्गाधनीले उनीविरुद्ध ठगी गरेको जाहेरी दिएका छन् ।
‘२ करोडको आश्वासन’ दिएर खड्काले मालपोत कार्लालय रामेछापमा जग्गा धनीलाई ‘५० लाखमा जग्गा किनबेच गरेका हौं’ भन्न लगाएर सालीको नाममा पास गरेर ठगी गरेको आरोप लागेको छ ।

