बाँकेबाट ५० जना कोरोना संक्रमितहरु निको भएर घर फकिर्दै

निको हुनेको संख्या १ हजार ४ सय ११ पुग्यो

नेपालगँज, बाँकेबाट आज शनिबार ठूलो संख्यामा कोरोना संक्रमितहरु निको भई घर फर्किने भएका छन् ।शनिबार एकैदिन ५० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेबाट भूमीसुधार तथा मालपोत कार्यालयका लेखा अधिकृत सहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृत सहित २३ महिला र २७ पुरुष गरी ५० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई भदौ २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ७ जना समेत गरी ३ सय ५८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७ सय ७४ रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।