बैतडीमा पहिलोपटक कोरोनाबाट मृत्यु

बैतडी ,भारतबाट फर्किएर घर जाँदै गरेका बेला बाटोमै मृत्यु भएका बैतडीका एक पुरुषमा कोरोना पुष्टि भएको छ। शनिबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पुर्चौडी नगरपालिका ३ का ३५ वर्षीय उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

मृत भेट्टिएका ती पुरुषको स्वाब संकलन गरि परीक्षणका लागि डडेल्धुरा पठाईएको थियो। भारतको बैंग्लोरबाट फर्केर घर जाने क्रममा ती पुरुष शुक्रबर अपराह्न पुर्चौडीकै लामाधारमा मृत भेट्टिएका थिए। ५ दिनअघि बैंग्लोरबाट हिँडेका ती पुरुष बिहीबार गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका थिए। ती पुरुषको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

शव व्यवस्थापनका लागि हनुमानध्वज गुल्मको टोली जिल्लाबाट घटनास्थलतर्फ हिँडिसकेको उनले बताए। मृतकका १ श्रीमती र १ पाँच वर्षीय छोरा छन्। बैतडीमा कोरोना कारण भएको यो पहिलो मृत्यु हो। जिल्लामा हालसम्म हालसम्म ४ सय २ जनामा संक्रमण पुष्टि भइसकेको छ।