प्रेस काउन्सिलका कार्यवाहकअध्यक्ष श्रेष्ठले दिए पदबाट राजीनामा
काठमाडौँ, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठक समक्ष राजीनामापत्र बुझाएका थिए ।३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाएको थियो ।
काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।