उडिरहेको हवाईजहाजको शौचालयमै आत्महत्या

एजेन्सी , एकजना यात्रीले उडिरहेको जहाजको शौचालयमै आत्महत्या गरेका छन्। बुधबार चीनको आन्तरिक उडानमा रहेको एक जहाजमा सवार यात्रुले शौचालयमा पसेर आत्महत्या गरेका हुन्।

चिनियाँ पत्रिका पिपुल डेलीको अनलाइन सँस्करणका अनुसार चीनको फुजियानबाट चेङ्दुका लागि बुधबार राति उडेको उक्त जहाजभित्रै यात्रुले आत्महत्या गरेपछि खैलाबैला मच्चिएको थियो। समाचार अनुसार द एयर चाइनाको सिए ४२३० जहाज फुजियान प्रान्तको फुजौबाट सिचुवान प्रान्तको चेङ्दु गइरहेको थियो।

तर यात्रुले आत्महत्या गरेपछि जहाजलाई हुनान प्रान्तको चाङसा हुआङ्सु विमानस्थलमा आकष्मिक अवतरण गराइएको थियो। शौचालयमा आत्महत्या कोसिस गरेका ती यात्रुलाई जहाज अवतरण गराएर तत्कालै अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए।