सार्कका विदेशमन्त्रीहरुको बैठकमा भारत पनि सहभागी हुने

काठमाडौं, सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन्। पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई प्राथमिकतामा नराखेको भारतले पछिल्लो समय कोभिड(१९ को संकटसँगै यसमा सक्रिय हुन थालेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कमा विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा विदेशमन्त्री जयशंकर सहभागी हुने पुष्टि गरेका छन्। यसअघि सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत(पाकिस्तान दुवै देशका विदेशमन्त्री पनि यो भर्चुअल बैठकमा सहभागी हुने अपेक्षा नेपालले गरेको थियो। सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन्। बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागी हुने करिब पक्का भएको छ।

यसअघि सार्कका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक बसेको थियो। बैठकमा पाकिस्तानका विशेष सल्लाहकार मोइद युसुफले पाकिस्तान सरकारले जारी गरेको नयाँ नक्सा देखाएपछि भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल बैठक छोडेर हिँडेका थिए। यो घटना बाबजुद सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भारत(पाकिस्तानका मन्त्रीहरुको पनि भेट हुने पक्का भएको छ।