राप्ती गाउँपालिकामा पार्टी प्रवेशको विषयलाई लिएर कांग्रेस र नेकपाको जुहारी
दाङ , दाङको राप्ती गाउँपालिकामा पार्टी प्रवेशको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा बीच जुहारी सुरू भएको छ । गत असोज ३ गते राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेसले नेकपाका कार्यकर्तालाई चियानास्ता तथा भेटघाट कार्यक्रम छ भनि झुक्याएर कांग्रेसको रसिद भिराएको आरोप कांग्रेसलाई लगाएपछि मंगलबार नेपाली कांग्रेस वडा नम्बर २ का वडा सभापति युवराज भुसालले सो आरोपको खण्डन गरेका छन् ।
उनले एक विज्ञप्ति जारी गरि कुनै पनि व्यक्तिलाई ललाई फकाई तथा झुक्याएर आफ्नो पार्टीमा प्रबेश नगराएको सवैमा ध्यानाकर्षण गराएका छन् । वडा सभापति भुसालले नेकपाका युवाले निकालेको प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूको भनाई तथा नामहरू कपोकल्पित भएको तथा नेपाली कांग्रेसको सदस्य नै नलिएको व्यक्तिहरु समावेश गरिएको र किर्ते हस्ताक्षर गराएर प्रेस विज्ञप्ति निकाल्न लगाएको प्रति कांग्रेसले घोर भर्त्सना समेत गरेको छ । केही अवसरवादी व्यक्तिहरूलाई पद र सत्ताको आडमा विभिन्न प्रलोभन देखाई विज्ञप्ति प्रकाशन गर्न लगाएको वडा सभापति भुसालले दावी गरेका छन् ।
नेपाली कांग्रेसको सिद्दान्त र आदर्शलाई आत्म साथ गर्दै आवद्व भएका सम्पूर्ण साथीहरू प्रति धन्यबाद समेत प्रेस विज्ञप्ति मार्फत दिएका छन् । यस अघि सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका १९ जना कार्यकर्ताले आफुहरू नेकपामै रहेको भनि विज्ञप्ति जारी गरेका थिए । त्यसको एक दिन पछि मंगलबार नेपाली कांग्रेस २ नम्बर वडा कमिटीले विज्ञप्ति निकालेको छ ।