सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको टहरावन कार्यालयले हटायो
भालुवाङ, दाङको देउखुरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरि बनाइएको २५ वटा टहरा तथा छाप्रा डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन बन कार्यालय राप्तीको एक टोलीले हटाएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समुहको करिब ४ हेक्टर क्षेत्रफलमा अतिक्रमण गरि बनाइएका दुई घर परिवारले बनाएका टहरालाई डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत लालबाबु यादबको नेतृत्वमा गएको बन रक्षक सहितको टोलीले सोमबार आँगो लगाएर हटाएको सब डिभिजन बन कार्यालय राप्तीका सहायक वन अधिकृत टंक गुरुङले जानकारी दिएका छन् ।
कालाकाटे, प्यूठान र रोल्पाका स्थानीयले सामुदायिक वनको जग्गा उपभोक्त समुहलाई नटेरी आफु खुसी उक्त वनको जग्गा अतिक्रमण गरि २५ वटा प्लटमा अस्थाई टहरा निर्माण गरेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका सहायक वन अधिकृत लालबाबु पण्डितले बताए । वनको जग्गा कसरी अतिक्रम भयो, यस विषयमा उक्त सामुदायिक वनका अध्यक्ष टंकनाथ चौधरीलाई बन कार्यालयले आबश्यक सोधपुछको लागी डिभिजन बन कार्यालयमा लिएको छ ।