रहेनन् विश्व कीर्तिमान राख्ने हिमाल आरोहि ‘हिमचितुवा’

काठमाडौं, १०औँ पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ ।

सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘ हिमचितुवा ‘ को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए।। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गरेका थिए।