सुन्दर मुस्कानको पर्दा पछाडि अनगिन्ती पिडाको राज बोकेकी ‘रीना’

 जसको कथाले गह भिजाउँछ

 जिवनको प्रत्यक पल भित्र भिन्न कथा अनि प्रत्यक कथा भित्र आफ्नै व्यथा बोकेर हिडेकी छिन उनी। हुनत हिड्नलाई पनि उनको निम्ति खासै फराकिलो दायरा पनि छैन। सबैतिरका मार्गहरु बन्द भइसकेका छ्न। तरपनी जिवन एउटा बाध्यात्मक यात्रा न हो मृत्युको गन्तव्य सम्म न पुगुञ्जेल सम्म त हिडिरहनुनै पर्ने, सक्रियता जनाइरहनुनै पर्ने। कहिले आफ्नो लागि हिंड्नुपर्छ अनि कहिले अरुको लागी। कहिले समाजको मुख थुन्न हिंड्नुपर्छ अनि कहिले आफ्नै र आश्रीत हरुको पेट भर्नको लागी।

हो उनिपनी आजसम्म त्यही जिन्दगीको बाध्यकारी यात्रामा हिड्दै छिन र हिडिरहेकी छिन। उनको मार्गमा पर्ने मुलद्वार हरू सबै बन्द भइसकेका छन तर शरीर गलेर सिथिल होउञ्जेल सम्म, खुट्टामा खिल परुञ्जेल सम्म एउटा परिधिभित्र गोलचक्कर लाइरहेकी छिन। जिन्दगीको गोलचक्कर, साँझ बिहान हातमुख जोर्ने शिलशिलाको गोलचक्कर। अनि छोराछोरीको पेट भर्ने र शरीर ढाक्ने उत्तरदायित्वको गोलचक्कर । प्रीय पाठक वर्गहरू : प्रेरणाका कथा, दु:खका कथा, संघर्ष अनि सफलताका कथाको खोजी गर्दै जाँदा सौभाग्यले प्राप्त गरेको यो अनुपम संघर्षयुक्त प्रेरक कथा म यहाँ सार्वजनिक गर्दै छु।

आजसम्म नितान्त गोप्य रहेको यो कथालाई साहेद पहिलोपटक मैले समग्र पाठक वर्गहरू माझ खुल्ला रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु। यस कथाकी पात्रको जीवन वृतान्त सुनिसकेपछी भावुकताको जकडमा परेको र एकोहोरो बनेको म यो कथालाई सार्वजनिक नगरेसम्म चयन नै पाइरहेको छैन। म यो ठोकुवा पनि गर्दछु कि यद्यपि तपाईंले यो कथालाई ध्यानपुर्वक पाठ गर्नु भयो र समानुभुत गर्नुभयो भने तपाईं पनि भावुक अवश्य बन्नुहुनेछ। हृदयको भित्तामा धक्काको अनुभुती हुनेछ अनि भावनाको गंगा जनुना नयनबाट बाहिरिने कुरामा मलाई संका छैन। किनभने मलाई बिश्वास छ कि तपाईं भित्रपनी मानवताको पन बोकेको एउटा मानव हृदय छ। तर मैले कथा उद्धृत गर्ने क्रममा कुनै कमजोरी भएसम्म त्यसको खण्डन गर्ने जिम्मेवारी तपाईंको हो।

पारिवारिक पृष्ठभुमि र जीवन मार्गको छनोट :

वि. सं २०४३ सालमा यस संसारमा अवतरीत भएकी उनी पुर्वी नेपालको पाँचथर जिल्लामा जन्मिएकी हुन। नेपाली समाजमा आफ्नै किसिमको पहिचान र संस्कृति बोकेको, आफ्नै वर्चस्व र आफ्नै परिवेश बोकेको लिम्बू समुदायको उर्जारूपी छोरी उनी सम्भ्रान्त र सम्पन्न परिवारकै सन्तान हुन। उसोत उनलाई सुख सयल र आनन्दमा कुनै अभाव थिएन। हुनेखाने सम्पन्न नमुना परिवार र समुदायकि सुपुत्री उनी नयाँ सम्भावना र सृजना बोकेर विद्यालय जीवनको यात्रामै थिइन। आफ्नै किसिमका सपना थिए अनि आफ्नै किसिमका रहर हरू पनि। जीवनको फुलबारीमा उनका पनि सपनाका अनगिन्ती फुलहरू नफुलेका होइनन तर मौसमनै बद्लियो जिन्दगीको। फुलबारीका सदावहार फुलहरू उखेलिए अनि बेमौसमी फूलहरुको खेती गरियो। जहाँबाट जिन्दगीले यु-टर्न लियो। बिगतबाट वर्तमान सम्म त ठिकै थियो तर भविष्यको मानचित्रमा महान विभेद र दंगा सृजना भयो।

परिवारका पाँच दिदिबहिनी र एक भाईमा उनी साहिँली हुन। उनी सानै उमेरदेखिनै स्वभावैले भिन्न थिइन। तत्कालीन नेपाली समाजको जातियताको कडा स्वरुप र वर्णव्यवस्था प्रती उनि कत्तिपनी सन्तुष्ट थिइनन। हुनत सांस्कृतिक रुपमा आफ्नै बिधी बिधान र रिवाज बोकेको आदिवासी मुलको व्यक्ति हुन उनी र उनमा यस्तो बैचारिक र व्यवहारिक भिन्नता देखिनु उबेलाको समयको लागि झट्ट हेर्दा अस्वभाविक र अपत्यारिलो पनि लाग्दछ तर उनमा यो भिन्नता विद्यमान थियो। दिनको संकेत बिहानीले गर्छ भनेजस्तै उनको बाल्यकालको बैचारिक स्वभावले नै भविष्यको जनवादी क्रान्ति र परिवर्तनको मानचित्र तर्फ संकेत गरिरहेको थियो। कुराकानीको क्रममा उनले भनेकी थिइन ‘जातीयताको नाममा मानिसले मानिसमाथी गरेको भेदभाव र अमानवीय व्यवहार मलाई स्विकार्य थिएन । जातीय अनुशासनको भंग गर्दै समाजका कथित निच जातिहरू सँग बसेर उनीहरुलेनै पकाएको खानेकुरा खाने गर्थेँ जुन हाम्रो परिवार र समुदायको लागि नितान्त अस्वीकार्य थियो।’

खोज्नुपर्ने त केही थिएन परिवारमा। सबैथोक पर्याप्त थियो तर पनि कलिला आँखा भित्र अनेक सपनाहरू आउन थालेपछि र तरुणतामा पदार्पण गर्दै गरेको अधकल्चो हृदयमा अनगिन्ती जिज्ञासा् र सोचहरूको लहर उत्पन्न हुनथालेपछी आफ्नो सुखै सुखको जिन्दगीलाई चटक्कै छाडेर जीवनयात्राको नयाँ गन्तव्य तय गरिन र आफ्ना कलिला कदम दु:खको कठोर पृष्ठभुमि तिर मोडिन। जुन पृष्ठभुमिले उनका कलिला रहर र सपनाहरू मार्‍यो नयाँ सपना र रहर जन्मायो र साथै संघर्ष र भोगाइको रापमा पोलेर परिपक्व पनि बनाएकै हो। दु:ख बाट जिन्दगी सिकेकी मान्छे हुन दु:खलाई नै आत्मसात गरेकी छिन अनि अझै गरिरहने त्यो अपुर्व क्षमता उनको रगतको कणकणमा निहित छ। कहिलेकाही त यो जिन्दगी देखि विरक्त पनि लागेर आउँछ भन्ने उनि हार भने स्वीकार गरेकी छैनन। समयले जुनसुकै र जतिसुकै कठिनाई अनि बाधा व्यवधान मार्गमा बिछ्यावस तर उनी हट्ने छैनन। कहिलेकाही साहसको बाँध डगमगाउनु पनि स्वभाविक हो तर उनले त्यसलाई नयाँ आस्थाले पुन: मजबुत बनाई छोड्छिन।

जनयुद्ध तर्फको आकर्षण, परिवर्तित बिचार र पुर्व पश्चिम यात्रा:

विद्यालयको पढाइ सकिएको सम्म थिएन तत्कालीन जनयुद्धले उनलाई आकर्षण गर्‍यो। उनले जनयुद्धको आसय र तत्कालीन एकीकृत ने.क.पा माओवादी को एजेन्डा सम्म बुझेकी थिइनन तथापी जल्दोबल्दो जनयुद्धको पञ्चाग्निमा हाम फालिन र जसको फलस्वरूप वि. सं २०५९ मा उनी अनुजा लिम्बू बाट बनिन कमरेड ‘रीना’। उनलाई कोहीले जनयुद्धमा होमेको थिएन न उनलाई कोहिले प्रेरित नै गरेको हो तरपनी उनी स्वयं त्यो युद्धको रक्तपातमा मुछिन इच्छा गरिन। बम र गोलिको आवाजले उनलाई तान्यो र संगिनको सौन्दर्यले आकर्षण गर्‍यो अनि बारुदको गन्धले जीवन बलिदान गर्न उक्सायो।

घर परिवारले उनको युद्ध प्रतिको आकर्षण लाई मन पराएको थिएनन अनि स्वभाविक ठानेको थिएनन। भर्खरको फुल्दै गरेको कोपिला मात्र न थिइन उनि युद्धको हुरी असिना थेग्न सक्ने बनेकै पनि थिइनन् । त्यसैपनी कुनैपनी माता पिता र अभिभावकमा आफ्नो सन्तान युद्धको रक्ताम्यमा असमायिक सहादत्त वरण गरोस भन्ने अपेक्षा कदाचित रहदैन तैपनि उनको गहिरो आकर्षण र अनियन्त्रित जिद्दीपनाले घरपरिवार पनि उनको पाटी पलायन लाई स्वीकार गर्न तयार भएका थिए। भागिभागी कार्यक्रममा उपस्थित हुने र अभियानमा लाग्ने भएकोले आजित बनेका अभिभावकले एस.एल.सि परिक्षा दिएर मात्र पार्टीमा लाग्नपाउने पुर्वसर्त राखेका थिए तर उनी टेस्ट परिक्षा दिनासाथ भागीन र पार्टीको एजेन्डा अनि उदेश्यको माध्यम बाट नेपालको उन्नति र सर्वहारा मुक्तिको मेरुदण्डको एउटा हिस्सा बनिन् ।

पार्टीमा प्रवेश गर्नुपुर्व उनिमा कुनै खास सोच र लक्ष्य नभएतापनी प्रवेश पश्चात् भने पार्टीको सिद्धान्त र त्यसले उठाएका एजेन्डा साथै उदेश्य सँग परिचीत बनेपछि अनि राजनीतिक सिद्धान्त बुझिसकेपछी भने वास्तवमै कम्युनिस्ट प्रेमी बनेर हृदय देखिनै समर्पित बनिन। साम्यवाद र समाजवादको आधार निर्माणको हेतु तथा शोषक सामन्ती र पुजीवादको धरासायीको निम्ति आफ्नो जीवनको हाँसीहाँसी बलिदान दिन तत्पर बनिन। देश र समाजमा विद्यमान विकृति विसंगति अनि असमान र निरंकुश शाशन प्रणालीमा अंकुश लगाउन तथा व्यवस्थित र जनपक्षीय शाशन सत्ताको रेखाचित्र खिच्न उद्धत बनिन। दुखको नाममा खेती किसानी गर्दा कहिलेकाही कुटो, कोदालो र हँसिया बोकेका कलिला हातहरुले बम बारुद खेलाउन थाले।

कलम बोक्न नपुगेका हातहरूले अब खुकुरी र राइफल बोक्न थाले। पुस्तकमा लेखिएका सरल वाक्य र भाव पनि नबुझ्ने उमेरमा मानिसको आँखा र अनुहार पढेर शत्रु र मित्रको यथार्थ बुझ्न अभ्यस्त भइन। किरा मिचिदा द्रवीभूत हुने हृदय मानिसको रगत सँग खेल्न तयार भयो। यसरी उनको जिन्दगीको धरातल फेरियो, सपना फेरिए, ऐतिहासिक यथार्थता फेरियो अनि सुकुमारी अनुजा रणधिर योद्धा रीना बनिन् ।
युद्ध कालमा घटेका हजारौं लाखौं सहज र असहज घुम्ती मोडहरुलाई उल्लेख गर्न नसकिएला तर उनले व्यक्त गरे अनुसार स्थिति प्रस्तुत गर्ने अभ्यास गरेको छु। उनलाई थाहा थिएन भोक कस्तो हुन्छ अनि उनलाई थाहा थिएन अभाव के हो तर उनी त्यो सबैको अनुभुति गर्न निस्केकी थिइन र गरिन पनि।

आफ्ना व्यक्तिगत र निजि सपना भन्दा धेरै माथी उठेर देश र जनताको निकास अनि गणतन्त्रको भविष्य खोज्न निस्केकी उनी पुर्व मेची देखि पश्चिम महाकाली सम्मको यात्रा र संकटको स्मरण गर्दा भावबिह्वल बन्छिन। ‘एक्काईस रात अनि एक्काईस दिन हिँडेर संखुवासभा देखि भेरीको जाजरकोटमा पुगिएको थियो। कति दिन खाएर हिँडियो अनि कति दिन भोकै। कहिल्यै तीन चार दिनको मुठी सातु खान पाइन्थ्यो। सँगैका साथिहरु गोलि र बमको सिकार बन्दापनी केवल देशकै भविष्य र क्रान्तिको सफलताको लागि भनेर छाती दह्रो बनाएर अर्को प्रहार आफ्नो लागि हो भन्ने सोच्दै बढ्नुपर्ने। मृत्युु सँग रत्तिभर डर लाग्दैनथ्यो सहिदको रुपमा मृत्युवरण गर्नु आफैमा गौरव ठान्दथ्यौँ भलै क्रान्तिको परिणामस्वरुपको गणतन्त्र हामिले भोग्न नपाउँला तर अरु कोहि अवश्य जन्मिने छ त्यसको हकदार भन्ने दीर्घकालीन उपलब्धिको सोच हुन्थ्यो।’ उनले भनेकी थिइन।

कहिल्यै सपनामा पनि सोचेको थिइनन पुर्वी नेपालको भुमिबाट पश्चिमको बिल्कुलै बिरानो लाग्ने सभ्यता र सांस्कृति सङ्ग यसरी जीवन गुज्रिएला भन्ने। सबै भाग्यकै खेल जस्तो पनि ठान्छिन उनी। हुनत यथार्थ भौतिकवादी बिचारधाराको मान्छे हुन तथापी कहिँकतै निकास नदेखिएको बेला भाग्यवादको शरण पनि लिन पुग्छिन र अमुर्त ईश्वरत्व सँग पनि झुकाव देखाउँछिन। जनयुद्ध संघर्षको चरम संक्रमणकालीन स्थितिबाट गुज्रेकी उनले त्यतिबेलाको तितो इतिहास आज मीठो तरिकाले अभिव्यक्त गर्छिन। आफुले कयौं पटक मृत्यु सङ्ग सिँगौरी खेलेका घटना हरू लाई जसै उनी व्यक्त गर्न थाल्छिन तसै हाम्रो शरीरमा काँडै काँडा उम्रीन्छन।

अभियानको क्रममा उनी संखुवासभा बाट पश्चिम् नेपालमा पुगेदेखिनै आजसम्मको उनको जीवन पश्चिमि धरातलमा नै बितेको छ। यहाँका प्रत्यक सभ्यता र सांस्कृति अनि जनजीवन सँग परिचित उनी आफ्नै जीवनको धेरै जसो पहिचान भने अव्यक्त राखेकी छिन।लामै समय पार्टीका विभिन्न युद्ध र अभियानहरुमा प्रत्यक्ष संलग्न भएर अभिभारा पूरा गरिसकेको केही समय चाहिँ क्याम्पमा बसिन र त्यहीँ बाट नेतृत्व गरिन। अभियान र युद्धको भन्दा क्याम्पको बसाइँ केही हदसम्मको ताजकिय महसुस गराउने सहज र सुखदायी बनेको थियो तर उनि आमा बनिसकेपछी वि.सं २०६२ सालदेखि क्याम्प छोडेर बाहिर निस्केकी हुन। उनलाई लाग्थ्यो साहेद क्याम्प छोडेर बाहिरको दुनियाँमा टेकेपछी जिन्दगी सुखी र खुशी हुनेछ तर साहेद त्यसको महसुस पनि गरिन र स्वाद पनि चाखीन। उसो त आज उनी सँगै एउटा क्याम्पमा बसेका र सँगै लडाइँ लडेका हरू उपल्लो तहमा पुगेर गणतन्त्रको आवरण भित्र राज गरिरहेका छन तर उनी शुन्य बाट सुरु गरेकी थिइन र फेरि शुन्यमै फर्किने हजारौं मध्यको एक प्रतिनिधि पात्र हुन जसले देश र जनताको लागि अनि पार्टीको लागि सबैथोक सुम्पेको थिए

बद्लामा आफ्नै जीवन धरातल भन्दा तल खस्केको छ।

माओवादी जनयुद्धका प्रमुख आधार जनमुक्ति सेनाका पलाटन कमान्डर सम्मको स्थानमा पुगेकी रीना उर्फ अनुजा लिम्बूले आफ्नो जीवनको महत्वपूर्ण र उपलब्धिमुलक समय पार्टी र युद्धमै समर्पित गरिन। जुनसुकै बेला पनि छातीमा गोलि निल्न राजी भएर रगतको प्रत्यक कणकण अनि सासको प्रत्यक बहाव यहि देशका सर्वहारा, मज्दुर किसान अनि शोषित उत्पीडित हरुको उन्मुक्तिको खातिर, निरंकुश र एकतन्त्रीय शासन प्रणालीको चर्को अराजकता लाई सफाया गरि गणतन्त्र राज्यको स्थापनाको खातिर समर्पित भइ शिरमा मृत्युमण्डल धारण गरेर फर्केका युवाशक्ती मध्य एक हुन।

मृत्युको घरमै पुगेर उसैसँग रगतको होलि खेलेर पनि जीवन फर्काएर त ल्याइन तर जीवनको उपलब्धि भने उतै छोडेर आइन। उनले युद्ध लडिन जुन उदेश्यको लागि त्यो त भयो तर आधा मात्र। गणतन्त्र राज्यको स्थापना पनि भयो त्यो पनि आधा मात्र। विकसित बिधान र नीति नियमहरू पनि बने तर कार्यान्वयन पनि आधा मात्र। राजतन्त्र हट्यो, राजा फालियो। “हिजोका प्रत्यक्ष शासन गर्ने एक राजा हटाउन मात्र पाएका थिएनौं अप्रत्यक्ष रुपना एकतन्त्रीय शासन चलाउने निर्वाचित जनप्रतिनिधिको खोल ओढेका सयौं राजा जन्मिए। हिजो समाजवादको लागि लड्ने अनि लडाउने सबै आज नातावादी भए। अझ भनौं परिवारवादी मात्र भए। नेपाली युवाको रगतले पोतेर ल्याएको गणतन्त्र आज नेता नामका शोषक हरुको गरिखाने भाँडो बन्यो। नेपाली जनताका स्थिति अवस्था जहाँको तहिँ, बद्लावको नामै देखिन्न।” मुस्कान सहितको उनको अभिव्यक्ति बाट भावुकता र आक्रोश पनि सँगै छल्किएको देख्न सकिन्छ।

वैवाहिक जीवन र त्यसमाथीको झुटको आवरण:

अनुजा लिम्बू (रीना) को वैवाहिक सम्बन्ध अन्तरजातीय हो। जसलाई समाजका आँखा हरूले देखि सहदैनन र सुनी सहदैनन। उनी लिम्बुवान बाट आएकी आफ्नै मौलिकता र सम्प्रदायीक पहिचान बोकेकी नारी हुन। माओवादी जनयुद्धमा होमिइ सकेपछी जातीय, वर्गीय र लैङ्गकि विभेदको अन्त्य गर्दै मानव र मानवतालाई प्राथमिक स्थानमा राखेर मानवतामुखी समाजको निर्माणमा जुटेका परिवर्तनकारी आवाज वाहक व्यक्ती आफैमा परिवर्तन हुन। आज आफ्नो नामको पछाडी खजुम सार्की लेख्ने अनुजा त्यही सैद्धान्तिक बिचार धाराको उपज भएकोले उनको विवाह पनि पुर्वीया समाजको जातिवाद लाई मिचेरै भएको हो।

जनयुद्धकालमै जाजरकोटमा कार्यरत रहँदानै उनको बिबाह जनमुक्ति सेनाका अर्का सदश्य हाल कालिकोट जिल्ला सानीत्रीवेणी गा. पा. ठेगाना भएका मने सार्की (जनक ) सँग जनवादी बिबाह भएको थियो। बिबाह पश्चात् उनीहरुको वैवाहिक जीवन सुखमय थिएन होला तर खुशीको अभाव पनि थिएन। दुई सन्तानकी आमा भइसकेकी अनुजा विगतलाई स्मरण गर्दै भन्छिन् “सान्ती सम्झौता र सेना समायोजन पश्चात् जब हामी कालिकोट बस्न थालेका थियौं तब त्यहाँको उदाहरणीय जोडि बनेका थियौँ। एक अर्का बिचको प्रगाढ प्रेम र आस्था थियो। परिवारमा सान्ती र हृदयमा कान्ति कहिल्यै लुप्त भएको थिएन। किराना पसल चलाएर बसेका थियौं। जीवन सजिलो र रमाइलो लाग्थ्यो।”
समाजवाद को खोजी र विकृत सांस्कृतिको सफाया तथा जनतन्त्रिक व्यवस्थाको सुत्रपातमै आफ्नो समग्र जीवन समर्पण गरेर जातीयताको घोर विरोधस्वरुप को उपलब्धिमुलक वैवाहिक सम्बन्ध स्थापना गरेकी अनुजा अझैपनी जातीयताको मामिलामा भने खासै स्पष्ट हुन नसकेको बताउँछीन।

बिबाह गरेर बर्षौँ बितिसक्दा पनि उनी डराएकी थिइन कि यदि उनका श्रीमान समाजको उपेक्षित सम्प्रदाय र कथित तल्लो जातिका व्यक्ती हुन भन्ने कुरा आफ्नो बुवा आमाले थाहा पाए सम्बन्धलाई धरासायी पार्न जुनसुकै हदसम्म पनि पुग्ने छन। प्रेम सम्बन्ध यसरी जिर्ण पारिनेछ कि जसको कुनै अंश र संकेत सम्म पनि बाकी रहने छैन भन्ने डरले उनको मनमा घर बनायो। त्यसैकारण जब उनी श्रीमान सहित जन्मघर टेकिन तब त्यहाँ जनकको यथार्थ पहिचान गोप्य राखेर उनलाई बिष्ट भनेर चिनाइन। उनको यो क्रियाकलापमा परिवर्तन प्रतिको अस्पष्टता त थियो नै त्यसमा उनको सम्बन्ध र श्रीमान जनक प्रतिको प्रेम उतिनै स्पष्ट देखिन्छ। जनयुद्ध बाट बाँचेर बर्षौँ पछि ज्वाइँ सहित फर्किएकी छोरिको सत्कार गर्नुको साथै दुईजनाको सांस्कृतिक बिधिपुर्वक औपचारिक बिबाह समेत सम्पन्न गरेर पठाएका थिए। उनीहरुको यो घटनाले पनि जनयुद्धमा गरेको बलिदानी सार्थक नभएको स्पष्ट चित्रण देखिन्छ। यहि घटनाले गर्दा पनि आज आफ्नो प्रत्यक यथार्थता ओझेल पार्नुपर्ने बाध्यता उनले व्यक्त गरेकी छिन। आज न त उनिसँग टेक्ने धरातल छ न समात्ने हाँगानै। न कतै जाने बाटो छ न कोहिलाई दुख सुनाउने माध्यमनै। सबैथोक ओझेल छन। आँसु ओझेल, हाँसो ओझेल, दुख ओझेल, पीडा ओझेल, ओठको एक धर्सो मुस्कान बाहेक अरु हरेक स्थिती अवस्था ओझेल …..।

धरासयी सम्बन्ध र त्यसको परिणाम:

जनवादी बिबाह गरेर सम्बन्धमा बसेका उनीहरुको सम्बन्धमा पछिल्लो समय चाहिँ अनायास दरार पैदा भएको छ। कुनै कारण त थिएन सम्बन्ध बिग्रनु तैपनि बिग्रीयो। उनको प्रगाढ प्रेम र प्रेम प्रतिको त्यागको प्रतिफल भने नकारात्मक निस्कियो। जीवन भरीको साथ र आस्थाको अपेक्षामा पुर्णविराम लागेको छ। आस्थाको ढुकुटी रित्तो भएको छ। प्रेमको मौसममा खडेरी परेको छ। न कहिल्यै यो सबै अपेक्षा गरिएको थियो न त सपनामै कहिल्यै सोचिएको थियो। जसको निम्ति भनेर आफ्नो परिवार, समाज, सांस्कृति, धर्म र परम्परा त्यागेर दुरको समाजमा असहज भएपनी समायोजन भइयो उसैले सबै आस्था र सपना अनि बिश्वास लाई जिउँदै चितामा लगेर दाहसंस्कार गरिसकेको छ। अब न प्रेम रह्यो न बिश्वास अनि न आस्था रह्यो न त त्यागको प्रतिफल।

आजभन्दा करिब तीन बर्ष अघि तिरको कुरा हो श्रीमान जनक भारत पसेको तर साथमा छिमेकीको छोरी लिएर। अर्को समुदाय र वर्णको मान्छे लाई जीवनसाथी बनाइसकेपछी आफ्नो प्रतिबद्धतामा रहन नसकी बिच बाटोमै अलपत्र पार्दै आफ्नै वर्ण र समुदायको युवती भगाएर गए जनक। कहिल्यै कल्पना मात्र होइन झुक्किएर सम्म सोचमा नआएको कुरा अकस्मात यथार्थमा रुपान्तरण भइदियो। न कहिल्यै उनले जनक सँग आफ्नो जात वर्णको दम्भ देखाइन न कहिल्यै भेदभावपुर्ण आसय देखाइन न त कहिल्यै सामुदायिक दवाव र प्रपञ्चनै थियो। तैपनि सम्बन्धमा जनक किन सन्तुष्ट भएनन कुरा बुझ्न सकिएन। सौन्दर्यमा पनि रीना कम थिइनन अनि व्यवहारमा र विचारमा पनि दुर्वल होइनन तर किन जनकले धोका दिएर गए? सवाल केवल सवालमै सिमित रहे।

उनी घरबाट गएको तीन चार महिना सम्म पनी रीनालाई थाहा थिएन आफ्नो श्रीमानले दोस्रो श्रीमती लिएर गएको कुरा। जब देवरले उनिलाई अवगत गराए बिश्वास गर्ने कुनै आधार पनि थिएन। कहिल्यै अलिकता मात्र पनि संका गर्न लाएक व्यवहार देखिएको थिएन जिन्दगीभर अनि त्यतिबेला पनि बिश्वास नै गरिनन उनले। मजाक र ठट्टामै लिनथालिन उनले सबैको कुरा फेरि जनकलाई फोन गरेर सोध्दा पनि भन्ने गर्थे ‘के तिमिलाइ मेरो बिश्वास लाग्दैन र ?’ अनि रीना त्यही बिश्वासलाई अंगालेर बसिन तर त्यहाँ बिश्वास भन्ने चिजलाई उहिलेनै चितामा जलाएर राख बनाइसकेका थिए। उनले अंगालेको बिश्वास केवल एउटा खोक्रो छाया मात्र थियो। तर जब ढिलै भएपनी उक्त कुरा प्रमाणीत भयो तब रीनाको जीवन कठिनाईको महाअग्नि तर्फ बढ्यो। न त अब भौतिक सहजता छ न त भावनात्मक। चारैतिर निष्पट्ट अन्धकार बाहेक उनी सँग केही बचेन। रुनलाई आँसु सकियो हास्न लाई हाँसो पनि सकियो, बाँच्न लाई आसा र अपेक्षा सबै सकियो।

उनी एक्लो हुन्थिन भने त जिन्दगीका कदम कता मोडिन्थे थाहा भएन तर उनको साथमा कलिला लालाबाला पनि त थिए त्यसैले उनीहरुको लागि एक मातृत्वको भुमिका निभाउन पनि साहस र आस्था बनाइराख्नु पर्थ्यो। उनीहरुको भोको पेट भर्ने र नाङ्गो शरीर ढाक्ने जिम्मेवारी अब रीनाको काँधमा मात्रै आएर अडियो। संसारीक महिमारूपी रथ हाँक्न दुई पाङ्ग्रा अनिवार्य हुनुपर्ने तर एउटाले साथ छोडेर गइसकेको थियो। अब एउटा पाङ्ग्राको भरले रीनाको संसार चल्न थाल्यो र चलाउने प्रयास हदैसम्मको गरेकी छिन अनुजा लिम्बू ( रीना ) ले। उनको नितान्त गोप्य रहेको यो कथा जब फुत्केर कोहिको अघि पोखिन थाल्छ तब साथै सम्मुखमा रहनेको नयन बाट आँसु पनि पोखिन थाल्छ।

जनयुद्ध भन्दा कठिन आजको वर्तमान:

एक्लो महिला अब छोराछोरी च्यापेर कालिकोट बाट बिरेन्द्रनगर झरेकी थिइन। छोराछोरी लाई खुवाउने, पढाउने, बढाउने सबै कुराको जवाफदेहीता आफ्नै काँधमा राखेर। तर सजिलो पक्कै थिएन। जिर्ण स्वरुपको बग्गी अझै अघि बढाउन सजिलो कहाँ थियो र जसको एउटा पाङ्ग्रा सम्म त छैन। सवारी भने थप दुई जना छन। उनीहरुलाई गन्तव्य सम्म त पुर्‍याउनु नै छ अनि जीवनको गन्तव्य देखाउनु छ आफै सारथि र आफै बग्गी भएर। आफै बाबा बनेर अनि आफै आमा बनेर। अरु कोहि छैन जसको मुख हेरेर भर मान्नु र आधार मान्नु। जे गरौं आफू एक्लै। अग्निकुण्ड मा लैजाउँ या जीवनसागर मा जता डोर्‍याए पनि अर्को कोहि छैन। आफ्नो सम्मुखमा खाउँखाउँ भन्ने दुई अनुहार छन जो एक्ला, निस्साहस अनि निरीह छन। गर्नु के? जानू कहाँ ? सहयोग कसको? भर कसको?

जतिसुकै गलती कमजोरी गरेको भएपनी असहाय हुँदा सहायता दिन सक्ने र टुट्दा जोड्ने आमा बुवा र दाजुभाइ नै हुन तर उनैसँग पुग्ने बाटो सम्म आफै बन्द गरिसकेकि छिन। उनको सम्बन्धलाई भलै उनका आफन्तले स्वीकार नगरुन तर आज उनी यसरी दु:खमा पर्दा आँखा छोपेर कानमा तेल राखेर सुत्ने पक्कै थिएनन होला। के गर्नु सम्बन्ध बचाउने चक्करमा टाँगेको झुटको पर्दालेनै आज त्यो बाटो बन्द गरेको छ। म समस्यामा छु, अथवा मेरो श्रीमानले अर्को बिहे गरेर भाग्यो भनौं भने आजसम्म लुकाएर राखेको सबै रहस्यको पर्दाफास हुनेछ जसको फलस्वरूप कहिलेकाही फोनमा सम्म कुराकानी गर्ने बुवा आमा र आफन्त पनि सँधैको लागि टाढ बन्ने डर छ। हिजो लोग्नेस्वास्नी को सम्बन्ध बचाउन झुट बोलिन अनि आज बाबा आमा र उनको समाजको कठोर लान्छना बाट जोगिन झुट माथी झुट बोलिरहेकी छिन। जब माइतीघर बाट प्रश्न आउँछन् ज्वाइँसाबको बारेमा अनि उनी भन्छिन् बिदेश जानू भएको छ पछिल्लो केही समय राम्रो कुराकानी भएको छैन तर आर्थिक सहयोग आइरहेको छ। तर यथार्थ अर्कै छ। झुट माथिको झुट भित्र यथार्थ गुम्सिएको छ अनि त्यही यथार्थ सङ्गै रीना झनै उकुसमुकुस बनेकी छिन।

अब उनको निम्ति जीवनयापनको आधार केही रहेन। कोठाको भाडा बढ्न थाल्यो, छोराछोरीको विद्यालय शुल्क बढ्न थाल्यो। पसलमा साहुको उधारो बढ्न थाल्यो। काम केही गरौं सीप केही छैन। पेशा व्यवसाय गरौं लगानी छैन। काम खोज्न जाँदा पनि कतै चिनजान छैन के गर्ने के नगर्ने रनभुल्ल जिन्दगी। कोहि नभएपछि पार्टीमा पनि आसा राखिन र सहयोग मागीन तर निराशा बाहेक केही दिएन पार्टीले पनि। उनले आर्थिक मागेको पक्कै होइनन बरु आफ्नो क्षमता अनुकुलको रोजगारको प्रस्ताव गरेको हुन। आफन्त र नातेदार अनि उपल्लो तहका कार्यकर्ताको झोलि भर्नमा व्यस्त पार्टीले उनी जस्तो एक्लो बेसहारा लाई के सम्बोधन गर्थ्यो होला र खाली मुन्टो हल्लायो सकियो।
हुनत उनी पश्चिम् नेपाल र कर्णाली प्रदेशको निम्ति बिल्कुल अपरिचित पनि कहाँ हुन र? यहाँका सत्तासीन हरु सँग त उनको राम्रै परिचय र पुरानो नाता छ। कर्णाली प्रदेशका मुख्य मन्त्री र सभामुख सङ्ग झन उनी राम्रै सँग परिचीत छिन् । अझ सभामुख ज्यु ले नै त झन उनको विवाह गराएको रे। एउटा क्याम्पमा बसेका र सँगै युद्ध लडेका उनीहरु आज त्यो स्थानमा छन र बिचरा सोझी रीना उनैसँग सैद्धान्तिक आस्था र सँगतको नातासम्बन्ध अनि पुरानो संघर्षताकाको दौँतरीको हिसाबमा आफ्ना दु:ख पोख्न पुग्दा उनीहरु सँग उनलाई सुन्ने फुर्सद सम्म पनि भएनछ।

कुराकानीको क्रममा अनुजा लिम्बू उर्फ रीनाले भनेकी थिइन, “मन्त्रालयमा मन्त्री र सभामुख दिदी सँग भेटघाट गरि आफ्नो दु:ख पोख्न र सहायताको अपिलको लागि आठ पटक पुगिसकेको छु। मैले आफ्नो लागि कुनै ठूलो पदको आग्रह गरेको थिइन केवल बाह्र पन्ध्र हजार सम्मको मामुली कामको लागि आग्रह गरेकी हुँ। मैले धेरै पढेलेखेको त थिइनँ तर पार्टी र जनवादी क्रान्तिमा त्याग नगरेको भने पक्कै होइन। त्यो भन्दा पनि एउटा पीडित र असहाय महिलाको रूपमा प्रस्तुत थिएँ जसको आधार र भरोसामा अरु दुई जीवन पनि थिए।”
मुख्य मन्त्री र सभामुख ज्यु बाट आश्वासन नआएको म भन्दिनँ तर के गर्नु आश्वासनले भोको पेट भरिन सम्भव थिएन। घरभेटीको भाडा, केटाकेटीको विद्यालयको शुल्क, पसलको उधारो तिर्न र बच्चाबच्चीको भोकको ज्वाला निभाउन पैसा चाहिन्थ्यो र पैसाको लागि काम जुन त्यहाँबाट प्राप्त हुनसकेन। उनको दुखेसो थियो।

मागेको त ठूलो केही थिइनँ, कोहि नहुँदा अनि केही नहुँदा आस्था र बिश्वासको सरण लिएको मात्र थिएँ तर सरणागतको सुरक्षा सुनिश्चित भएन। बलिदानीको पनि कठिन परिस्थितिमा अवमूल्यन गरियो। केटाकेटीको विद्यालयको शुल्क तिर्न अनि खानबस्नको लागि जोहो गर्न सम्मको काम मागेको हुँ त्यो जुनसुकै स्थानमा जस्तोसुकै भएपनी हुन्थ्यो तर हाम्रा प्रतिनिधि हरूको आँखाले मेरो दु:ख देखेनन अनि कानले मेरो क्रन्दन सुन्न सकेनन। पार्टीले गरिब विपन्न सदश्यहरू लाई राहत स्वरुप सहयोग रकम उपलब्ध गराउने गरेको भन्ने सुनेको तर मैले त्यसको लागि त आश्वासन सम्म पनि पाइनँ। सबै तिर बाट निराशा मात्र हात लाग्यो अनि आसाको रोशनी निभ्दै गयो। चारैतिर अन्धकार जस्तो अनुभुति मात्र हुनथालेको थियो। के गर्नु के नगर्नु भएको बेला नदिमा डुबेजस्तै भएँ। अब उत्रनको लागि आफैले हातखुट्टा चलाउनु थियो। उनका अभिव्यक्ति अत्यन्तै भावुक र गहिरा थिए तर बोलिमा मिठास र अनुहारमा मुस्कान त उनको कहिल्यै हराएन।
उनका अभिव्यक्ति मीठा जति छन त्यो भन्दा अत्यन्तै धेरै मार्मिक छन र इतिहास तितो अमिलो छ। सुन्दा कानलाई आनन्द दिने उनको मिठो र कोमल बोली छ भने हृदयमा प्रहार गर्ने अनि आँखाबाट मुल फुटाउने कहानी छ।

सबैतिरबाट निराशा मात्र हात लागेपछि उनलाई अब कोहि प्रती आस्था रहन छोड्यो। न श्रीमानले साथ दिए न पार्टी र सरकार, न त साथीहरूले। बिल्कुल शुन्य बनिन् उनी। आर्थिक रूपमा विपन्न मात्र होइन भावनात्मक रुपमा पनि शुन्य नै बन्न पुगिन। एकातिर जीवनसाथी ले दिएको धोकाको घाउ छ अनि अर्को तिर ऋण र छोराछोरी साथै आफ्नो पेटको ज्वाला। जिम्मेवारीको पहाड आफै माथी छ। स्थिति बन्यो लड्नुन भाग्नुको। अब के गर्ने?  कामको खोजिमा निस्किन उनी। फ्याक्ट्री र डिलरहरू तिर काम माग्न हिँडिन। तर चिनजान त कोहि सँग छैन काम पनि देवस कसले। त्यसमा पनि काम पाइहाल्यो भने उनको अनुकुल नहुने। किनकी उनलाई बिहान बेलुका छोराछोरी लाई खाना पकाएर खुवाउने र स्कुल पठाउने समय पनि चाहिन्थ्यो जुन उनले पाइनन।

जतिसम्मको समय उनले माग गरेकी थिइन त्यो केही पाइएन। बल्लतल्ल सुर्खेत अस्पतालमा काम मिल्यो सफाइको आठ हजारमात्र महिना। ड्युटी भने उनले सोचे अनुसारकै थियो। अब भने उनलाई रासन सम्म जुटाउने आधार बन्यो तर अन्य खर्च कसरी टार्ने? त्यतिले त तीनजना लाई महिनाभरीको खाना पनि मुस्किलले पुग्ने। घरभाडा र स्कुल फी कसरी तिर्ने? त्यसको लागि उनले अतिरिक्त समय पनि काम गर्नुपर्ने महसुस गरिन र कामको खोजिमा लागिन।अतिरिक्त कामको लागि उनले दुईवटा मेडिकलमा काम पाइन् । बिहानै सवा-सवा घण्टाको ड्युटि गर्नुपर्ने हुन्थ्यो त्यो सबै सहित उनको महिनाको कमाई अठार हजार पुग्यो जसबाट अब उनले छोराछोरीको पढाई खर्च, घरभाडाको साथसाथै ऋणमा पनि कटौती गर्न पाइन। उनले दैनिकी दस घण्टा काम गरेर पनि छोराछोरी स्याहार्नुपर्ने स्थिती आयो तर जेहोस खर्च सम्म चलेको थियो र जिन्दगीले एउटा आधार पाएको थियो। आमा हुन आफू भोको हुँदा सम्म सहन सक्छिन, आफ्नो मृत्यु सम्म पनि सहर्ष स्वीकार गर्न सक्छिन तर छोराछोरीको दु:ख बिजोग सोच्न सम्म सक्दिनन। जब कोरोना महामारी फैलियो तब उनले अस्पतालको काम छोड्नु पर्‍यो। उनले आफ्नो लागि असहज सोचेर होइन छोराछोरीकै लागि हो।

उनले सोचिन यदि म कोरोना संक्रमित भएँ भने मेरो छोराछोरीलाई कसले सम्हालिदिन्छ? उनीहरुको बिजोग नहोस भनेर बरु उनले थप दु:ख र अभाव सहन काम छोडिन। आजभोलि बिहान मेडिकलको काम गर्छिन अनि छोराछोरी लाई कापीकलम जुटाउन सम्म सहज होस भनेर दिनभर चोकमा फलफुल बेचेर बस्छिन् । हामी सँग कुराकानी गर्ने क्रममा उनले भनेकी थिइन् “फलफुलको व्यापार कहिल्यै घाटा आउँछ, कहिल्यै बिक्री नै पूरा हुदैन अनि कहिलेकाही दिनमा दुई तीन सय नाफा आउँछ भने कहिल्यै त केही भाग सडेरै जान्छ। दिनभर अरु केही उपाय नदेखिएकाले यो काम पनि गर्न थालेको हुँ।” अब उनिसँग कुनै सपना छैनन्, कोहि प्रती आस्था छैन अनि कोहि प्रती बिश्वास पनि छैन। उनको सपना र आस्था जे होस छोराछोरी माथी नै छ। उनीहरुको निम्ति नै चिन्तित छिन। छोराछोरीको लालनपालन र भविष्य भन्दा पर अर्को कुनै महत्वाकांक्षा छैन।

जनयुद्ध देखि सुरु गरेको संघर्षको यात्रा आज आएर बिरेन्द्रनगरको चोकमा स्थित छ। प्रत्यक दिन घामको चर्को किरणमुनि सेकिन्छिन अनि बर्षाको मुसलधारे पानीमा चुटिन्छिन। सपना र महत्वाकांक्षा सबै त्यागिसकेकी उनी जीवनले दिएका चोटहरु सहँदा सहँदै आज कठोर बनिसकेको छिन तर जीवन देखि हार स्वीकार भने गरेको छैनन। जनयुद्धमा देश र जनताको निम्ति समर्पित गर्दापनि उपहारमा फर्केर आएको जिन्दगी आज फेरि सन्तानको निम्ति समर्पण गरेकी छन। उनी एक अनुजा हुन जसले संघर्ष सँग भिड्न सिकाउँछिन र जीवनको निराशापन बाट आसाको किरण निकाल्न सिकाउँछिन। सबैतिरको ढोका बन्द भैसकेको बेला संघर्षको भित्ता तोडेर भएपनी जिन्दगीको निकास खोजिरहेकी छिन। आशाले साथ छोडेर गएपछि पनि पौरखको उज्यालोमा जीवन खोजिरहेकी छिन। उनी हाम्रो समाजकी एक प्रतिनिधि पात्र हुन जसले जीवन दाउमा राखे बापत केवल आश्वासन मात्र पाए तर भविष्य सुनिश्चित गरिएन।

पार्टी बाट उपेक्षा गरियो अनि समाज र परिवार बाट पनि उपेक्षित भए। तर रीना कोहि दाउराको ठुट्टा होइनन जो एक चोटमा टुक्रेर जावस उनी त अचानो हुन जसले खुकुरीको हजारौं लाखौं चोटको बाबजुद पनि आफ्नो अस्तित्व कायम गर्दछ। आज एउटा रीनाको समस्या समाधान गरेर उसलाई आधार दिन नसक्ने अनि निकास दिन नसक्ने सरकारले समाजका आफ्ना समस्या लुकाएर राखेका र निकास माग्न नसकेका अनगिन्ती रीनाको सम्बोधन गर्न सक्छ त यो सरकार र सरकारका पदाधिकारी हरुले ? जो आफ्नै आफन्त र नातेदार लाई मात्र हरपल नियालेर वास्तविक दुखी र पीडित लाई नजरअन्दाज गर्दछन अनि पछिपछि झोला बोकेर लाग्ने झोले लाई मात्र अवसर दिने गर्दछन। जवाफ र प्रतिक्रिया पाठक वर्गको जिम्मेवारी। रीनाको सहयोग र निकासको लागि के गर्न सक्नुहुन्छ आफ्नो स्थानबाट त्यो गर्नुहोस् र सकेसम्म पुनः रीनाको आवाज सरकारको कानसम्म पुगोस हाम्रो अपेक्षा।