चीनले ताइवानलाई कब्जा गर्ने पूर्वाभ्यास थाल्यो
एजेन्सी, ७ घण्टा अघि असोज ५, २०७७ अमेरिकी समर्थनमा मुख्यभूमि विरुद्ध लागेको भनिएको ताइवानलाई सैन्य कारबाहीबाट नियन्त्रणमा लिन चीनले युद्ध पूर्वाभ्यास थालेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १९ वटा लडाकु विमान शनिबार हवाइ रक्षा क्षेत्रभित्र घुसेका थिए। यी विमान दक्षिण–पूर्वी तटबाट ताइवानको क्षेत्रमा देखिएको र केही विमानले ताइवाइन स्ट्रेट मिडलाइन पार गरेको जनाइएको छ। ताइवानले लगातार दोस्रो दिन चिनियाँ विमान आफ्नो सीमामा छिरेको आरोप लगाएको छ। शुक्रबार पनि यस्तै भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चीनले १२ वटा जे–१६, दुइवटा जे–१० लडाकु विमान, दुइवटा एच–६ बम वर्षक विमान र एउटा वाई–८ सबमरीन एअरक्राफ्ट ताइवानी क्षेत्रभित्र पठाएको थियो। बीबीसीका अनुसार चीनले आफ्नो वायु क्षेत्र अतिक्रमण गरेलगत्तै ताइवानले पनि हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको जनाएको छ। चीनले ताइवानलाई एक चीन नीतिअन्तर्गत आफ्नो भूमि मान्ने गरेको छ। ताइवानले कुनै पनि देशसँग स्वतन्त्र द्विपक्षीय सम्बन्ध राख्न या विकसित नगर्न चीनले दबाव दिँदै आएको छ। तर, ताइवानले हालैका दिनमा अमेरिकासँग निकट सम्बन्ध बनाइरहेको छ।
चीन र अमेरिकाबीच परम्परागत दुस्मनी रहिआएको छ। हालै अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजारले ताइवान भ्रमण गरेपछि चीन आक्रोशित बनेको छ। एलेक्स चार दशकयता ताइवान भ्रमण गर्ने अमेरिकी उच्च अधिकारी हुन्। सो भ्रमणलगत्तै चीनले यसको नतिजा निकै खराब हुने चेतावनी दिएको थियो। ताइवानले यस वर्ष निकै पटक आफ्नो वायु क्षेत्रमा चिनियाँ लडाकु विमान छिरेको र प्रतिरक्षा गर्नका लागि अमेरिका निर्मित एफ–१६ विमान परिचालन गर्नुपरेको गुनासो गरिसकेको छ। चिनियाँ अखबार द ग्लोबल टाइम्सले पनि शुक्रबार भएको हवाई ड्रिल ताइवान कब्जा गर्ने पूर्वाभ्यास भएको जनाएको छ। अखबारले लेखेको छ, ‘अमेरिका र ताइवानले यो अभ्यासलाई कुनै खेल नसम्झुन्, स्थिति भड्काउन खोजे अवश्य युद्ध हुनेछ।’