नेपाली कांग्रेसले अनसनरत् डा केसीसँग तत्काल वार्ता गर्न सरकारलाई ध्यानाकर्षण
काठमाडौँ, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले जुम्लामा अनसनरत् डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलार्ई ध्यानाकर्षण गराएको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक रहेका डा। केसीसँग ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ गर्न सरकार समक्ष माग गरेका हुन् ।
‘कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रुपले अपील र आग्रह गर्दछ’ विज्ञप्तिमा उल्लेख ।
२०७५ साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा डा। केसीसँग भएको सम्झौता त्यही बर्ष माघ महिनामा उल्लंघन गरेको नजिर नदोहोर्याएर इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न कांग्रेसले सरकारसँग माग गरेको हो ।भदौ २९ बाट डा केसीले विभिन्न ६ बुँदे माग राख्दै जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश तथा जिल्लामा सरकारी मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ ।