राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।