श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ जना बिरामी

कैलाली, कैलालीमा श्राद्धको खाना खाएका एक जनाको मृत्यु भएको छ । अन्य १५ जना बिरामी भएका छन् ।

गोदावरी नगरपालिका– १० खमौराका १५ जना बिरामी भएका हुन् । बिरामी भएकामध्ये एक जनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता)का कारण उनीहरु बिरामी परेको बताए ।