मातापिताको १६ श्राद्धमा दाजुभाईले गरे निलसागरलाई खाद्यान्न सहयोग

भालुवाङ, यति बेला १६ श्राद्वको समय छ । स्व. माता पिताको पुण्य तिथि पारेर छोराहरूलाई बाहुन खोजेर श्राद्व गर्न भ्याई नभ्याइ छ । बुवा अामा जिउँदा हुँदा सम्म लालनपालन नगर्ने, सधैभरि जन्म दिने बुवाअामालाई दुख दिने र गिंधे नजरले हेर्ने छोराले १६ श्राद्वमा भने टुप्पी कसेर श्राद्व गरेको देखिन्छ । तर दाङ देउखुरीका दुई दाजुभाईले भने जन्म दिने आफ्ना स्व. बुवाआमाको पितृ तर्पण अर्थात सोह्र श्राद्धकाे साटाे १६ श्राद्व नगरी उनै बुवाआमाको पुण्यतिथि पारी सोमबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी होमप्रसाद शर्मा र रामप्रसाद शर्माले स्व. बुवा गेमलाल शर्मा र स्व. अामा तुलसादेवी शर्माको संझनामा दुई दाजुभाई शर्माले आश्रममा खाद्यान्न सहयोग गरेका हुन् । विगत देखि आध्यात्मिक संस्कारको रूपमा बाहुन राखेर पुजापाठ,श्राद्व गरि बाहुनलाई दान दक्षिणा दिने चलन छ त्यो चलनलाई मैले केही रूपान्तर गरेको छु साइला छोरा होमप्रसाद शर्माले भने ।
२०५१ साल देखि नै यो परम्परालाई समाजबाट बदल्नु पर्छ भन्ने सैधान्तिक अवस्थामा शर्माले आचरण, व्यवहार, चिन्तन र दृष्टिकोणमा परिवर्तन सँगै भाैतिक विचार राख्ने भएकाले परम्परागत संस्कारको अन्त्य गरि नयाँ सोच र चिन्तनका साथ गरिव दिनदुखीहरूको सेवामा लागेको बताए ।

मरेको पितृले पिण्ड पाएको भनेर अहिले सम्म कसैले भनेको पनि छैन र सुनेको पनि छैन त्यसैले त्यो संस्कारमा हुने खर्चलाई गरिव, असाहाय, टुहुरा, अनाधहरूलाई सहयोग गरे वा खाना खुवाउन सके मात्र सच्चा पुण्य प्राप्त हुने शर्माले बताएका छन् ।

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि दुई दाजुभाई शर्माले सेवानै धर्म हो’ भन्ने भावनाका साथ आश्रममा रहेका बुवाआमाहरूका लागि चामल, दाल, तेल, नुन, चिनी प्रदान गरेका हुन् ।

आश्रममा रहेका बुवाआमाहरूको केही दिन भए पनि भोको पेट भरियोस् भनेर बुबाआमाको पितृ तर्पणको अबसरमा सहयोग गरेको साइलो छोरा होमप्रसाद शर्माले बताएका छन् ।