नेपाली कांग्रेस परित्याग गरेर तीन सय बढी कार्यकर्ता नेकपामा प्रवेश

राजपुरमा एउटा आँधीभेरीको सृजना भएको छ : नव प्रवेशी

 देउखुरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले सन्तुलित विकासको अवधारणा अनुसार सरकारले दुर दराजको वस्तीमा विकास पु¥याईरहेको बताएका छन् ।

नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेकाहरुको स्वागत सम्मानमा राजपुरको जंग्रहवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले नेकपाको नेतृत्वको सरकारले समाजवादमा पुग्न जग निर्माणको काम भैरहेको र विस्तारै छत ढलान गरे झैं बलियो आधार तयार पार्न थालिएको बताएका हुन् । मंगलबार आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव तथा हाल नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि भोगेन्द्र सिंग राजपुतको नेतृत्वमा तीन सय बढी व्यक्ति नेकपामा प्रवेश गरेका छन् ।

चुनावी सभाको झल्को दिनेगरी पार्टी प्रवेश गरेकाहरुले नेपाली कांग्रेस भित्र चरम थिचोमिचो रहेकाले त्यो पार्टी छाडेर नेकपामा प्रवेश गरेको बताएका छन् ।‘पार्टीले पटक–पटक दमन र शोषण बाहेक केही गर्न सकेन । जव जनताको आवश्यकता प¥यो तव प्रयोग ग¥यो’नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका भोगेन्द्रले भने–‘अझैं मन दाब्ने कोसिस गरिदै छ । अव मन दाबिदैन । एउटा आँधीभेरीको सृजना भएको छ ।’

राजपुरमा भएको कार्यक्रममा भोगेन्द्र सहित, धनबहादुर ओली, ठागुराम चौधरी लगायतका अगुवा नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा राजपुर गाउँपालिका कमिटिका अध्यक्ष चक्रबहादुर खड्का(शिखर)को अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य, दाङ जिल्ला ईञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै गौतमले नव प्रवेशीहरुलाई पार्टीले क्षमता र दक्षताको आधारमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले विभिन्न वहानामा जनतामाथि अझैं शोषण गर्ने काम भैरहेको भन्दै त्यसको अन्त्यको लागि सरकारले योजनाबद्ध कार्यक्रम ल्याउन थालेको बताए । कार्यक्रममा जिल्ला सचिव सुवास पुनले मन्तब्य व्यक्त गरेका थिए । घनश्याम चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा राजपुर गाउँपालिकाका प्रवक्ता भिम ओलीले गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य सांसद ईन्द्रजीत थारु, नेकपाका केन्द्रिय सदस्य तथा सांसद दामा शर्मा, नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, नेकपाका केन्द्रिय सदस्य नारायणी शर्मा, नेकपाका प्रदेश कमिटि सदस्य तथा सांसद गंगा थारु लगायत नेतृत्वको उपस्थिती रहेको थियो ।