लमही–कोइलाबास सडकको रौनक गढवा दाङकै आकर्षक बजार बन्दै

देउखुरी , तीन बर्ष अगाडी देखि सुरु भएको लमही–कोइलाबास सडक कालोपत्रेको काम करिब अन्तिम चरणमा पुगेको सडक निर्माण कम्पनिले बताएको छ । कोइलाबास बजार क्षेत्र र जंगलका केही भागहरुमा कालोपत्रे सम्पन्न भएपछि अहिले गढवा बजार क्षेत्रमा काम सुरु भएको छ ।

गढवा बजारका भौतिक संरचनाहरु समयमै नभत्काइएका कारण कालोपत्रे गर्न बाँकी रहेको थियो । गाउँपालिका र वडा नं. ६ को पहलमा गढवा बजार क्षेत्रमा सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटेपछि गढवा दाङकै आकर्षक र सुन्दर बजार बन्ने भएको हो ।
गढवा गाउँपालिका र वडा नं. ६ को कार्यालयको पहलमा गढवा बजारलाई आकर्षक बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।

हुलाकी सडक आयोजनाको कार्यालय मार्फत सडक निर्माण कम्पनिले ७ मिटर चौडाई मात्र कालोपत्रे गर्दै आएको छ । जसमा गढवा बजारको दक्षिणतर्फ रहेको कल्भर्टदेखि इलाका प्रहरी कार्यालयको पूर्व-उत्तर तर्फको कल्भर्ट सम्मको मुख्य बजार क्षेत्रमा ११ मिटर बढी चौडाईमा कालोपत्रे गरिदै छ । जसका लागि गढवा गाउँपालिकाले १० लाख र ६ नम्बर वडा कार्यालयले २ लाख गरी १० लाख बजेट लगानी गर्ने भएको वडाध्यक्ष बालचन्द्र हमालले जानकारी दिए ।

करिब १२ मिटर चौडाइमा सडक पुरै कालोपत्रे हुँदै छ भने सडकको दुबैतर्फ रेलिङ लगाइदै छ । दुबैतर्फ रेलिङको बाहिरी भागमा सिमेण्टका टिकटायल लगाई पैदलमार्ग बनाइदै छ भने गाउँपालिका र वडा कार्यालयकै पहलमा इलाका प्रहरी कार्यालयको कम्पाण्ड वाल र मन्दिर समेत बनिसकेको छ । सडकलाई दुबै तर्फबाट रेलिङले छेकेपछि सडकमा कुनैपनि यातायात र मालबाहक साधन पार्किङ गर्न र पैदल हिड्न समेत नपाइने भएको छ । जसले गर्दा बजार क्षेत्रमा भिडभाड कम हुने र संभावित दुर्घटनामा कमी आउने स्थानीय जानकारहरुको भनाई छ । सडक निर्माणले आकर्षण लिएसंगै सडक क्षेत्राधिकारभित्र संरचना हटाएका उपभोक्ताहरु समेत सन्तुष्ट र खुसी भएको पाइएको छ ।

गढवा बजारमा सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन पटक–पटक सुचना र ताकेता गरियो । मेरो आफ्नो घर र गाउँपालिकाका टहराहर सुरुवातमै भत्काएर अरुलाई संरचना हटाउन सुचना जारी गरियो । निकै संघर्षका बावजुद मात्र उपभोक्ताहरुले संरचना हटाए । अहिले बल्ल गढवाको आकर्षण र रौनकता थपिएको छ– सुरुवातमै आफ्नोघर भत्काएर निर्माण कार्यलाई सहज बनाउनु भएका वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकूरी हमालले भने ।

गढवाको रुपरंग बदलिन थालेको छ, जसका लागि हामीले अथक प्रयास गर्यौं । पहल नगरेको भए संरचना हटाउन स्थानीयले मानेकै थिएनन्–वडा नं. ५ का वडाध्यक्ष भण्डारीले भने । गाउँपालिका र वडाबाट १२ लाख लगानी गर्ने निर्माण कम्पनिसंगको संम्झौता पछि गढवा दाङकै फराकिलो सडक भएको आकर्षक बजार बन्ने भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने । लमही देखि करिब ३३ किलोमिटर दुरीको यो सडक गढवा बजार क्षेत्रमा कालोपत्रे हुन थालेपछि निर्माण कार्य सकिन थालेको हो ।

तीनबर्ष अघि ६९ करोडको लगानीमा हुलाकी सडक आयोजनाको कार्यालय नेपालगञ्ज मार्फत कालिका कुमार जेभि कण्ट्रक्सन प्रालिले ठेक्का लिएको हो ।  सन् २०१७ जुन ११ बाट काम सुरु भएको र २०१९ डिसम्बर १० मा म्याद सकिएको भएपनि कोभिड १९ को प्रकोपका कारण पुनः ४ महिना म्याद थपिएको निर्माण कम्पनिका साइड इन्चार्ज रजेन्द्र श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको १ बर्षसम्म सडक मर्मत सम्हारको जिम्मा निर्माण कम्पनिकै रहने उनले बताए ।