कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

उनको उपचारकै क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डा। अतुलेशकुमार चौरसियाले जानकारी दिएका छन् । उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो ।

तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।