जग्गाको कित्ताकाट फुकुवामा रोक लगाउन सर्वोच्चको आदेश जारी

काठमाडौँ , सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश जारी गरेको छ । सोमबार अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले खेती गरिनुपर्ने उर्वरा जग्गाको व्यापक विनाश हुने हुँदा हाललाई सो निर्णय कार्यान्वयन नगर्नु भनी आदेश जारी गरेको छ ।सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

भदौ १८ गते बसेको मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले कित्ताकाट खोल्ने निर्णय गरी सम्बन्धी निकायमा परिपत्र समेत जारी गर्न लगाएकी थिइन् । कित्ताकाट खोल्ने सरकारको निर्णयको सर्वत्र विरोध भएको थियो ।