दाङमा आज बिहानै देखि व्यवसाय र सवारी साधन संञ्चालन

दाङ , बन्दाबन्दी खुकुलो भएसंगै दाङमा आज बिहान देखि व्यापार व्यवसाय संञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जिल्लामा लकडाउन केही खुकुलो बनाउँदै व्यापार व्यवसाय बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संञ्चालन गर्न दिने निर्णय गरेपछि दाङमा व्यापार, व्यवसाय खुल्नुका साथै सवारीसाधन सञ्चालन भएका हुन् ।

जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि जिल्लामा भदौ १५ गतेदेखि पूर्ण रुपमा लकडाउन गरिएको थियो । एकसाताको पुर्णरुपमा लकडाउन गरेपछि भदौ २१ देखि २८ गते सम्मका लागि आंशीक लकडाउन गरिएको थियो ।

लकडाउनका कारण नागरिकको जनजीवन अस्तव्यस्त बन्दै गएपछि लकडाउन केहि खुकुलो बनाएर आजदेखि सार्वजनिक सवारी पनि संचालन गर्न दिने निर्णय भएको जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

जिल्लामा कोरोनाको जोखिम कायमै रहेको अवस्थामा सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेर संचालन प्रजिअ रिजालले जानकारी दिए । लकडाउन खुकुलो पारिएपनि गोष्ठि, सभा, सम्मेलन, जुलुस, महोत्वस, जात्रा र कुनै पनि किसिमका भिडभाड हुने क्रियाकलापमा पूर्णरुपमा रोक लगाइएको छ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।