जनयुद्धको तितो इतिहास बोकेर वर्तमानमा उभिएकी ‘बविता’

जसको जीवनको बृतान्तले शरिरमा उमार्छ काँडा

जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश र समाजकोलागि आफ्नो जिवनको बलिदानी दिन निस्केका योद्धाहरुलाई सोही समर्पणको भावले पनि जीवनदान दिन्छ भन्ने कुराको उल्लेख गर्दैगर्दा आज ममा कुनै किसिमको शंका र संकोच निहित छैनन् । म उल्लेख गर्दैछु त्यो कुरा जहाँ बलिदानी र समर्पणले मृत्युको बाध्यात्मक निमन्त्रणापत्रलाई पनि सहजै ठोक्र्याउन सकेको छ।

प्रीय पाठकवर्गहरु

आज म पुनः अर्को प्रेरणाको भण्डार खुल्ला गर्दैछु जसले मृत्यु जित्ने हौसला र साहसको वकालत गर्दछ। म उनको कथालाई प्रस्तुत गर्दैछु जसले मृत्यु जितेर जीवन हासिल गरेकी छन। मृत्युको कालो मुखमै पसेर पनि साहस र समर्पणभावको बलले कालजयी बनेर फर्किएकी थिइन। एक साहसी कर्मठ र हक्की योद्धा अल्किना बम (बबिता)

पारिवारिक पृष्ठभुमि र शैक्षिक उपलब्धि

प्रत्यक व्यक्ती एक पृष्ठभुमिबाट हुर्केर आएको हुन्छ त्यस्तै आफ्नै पहिचान र पृष्ठभुमिबाट जन्मिएकि बबिता सम्भ्रान्त परिवारकि सौन्दर्यात्मक गहना थिइन । वि सं २०३९ सालमा कालिकोटको तत्कालीन राम्नाकोट गाविस वडा नं ६ स्थित ठकुरी परिवारमा जन्मिएकी अल्किनाको आफ्नै पारिवारिक प्रभुत्व कायम थियो । अनि आफ्नै सामाजिक र सांस्कृतिक पहिचान र मर्यादा पनि।। कुटिल सांस्कृति परम्पराको बिचमा हुर्केकी अल्किना बम (बबिता) आफैमा क्रान्तिको एक मुर्त उदाहरण पनि हुन भन्ने कुरा अस्विकार्य छैन।

जसले समाजमा युगौँदेखि विद्यमान रहेको महिला शिक्षाको सन्दर्भको काला सिद्धान्तलाई चिरेकी थिइन। कालिकोट आफैमा देशको एक दुर्गम जिल्ला हो यसमा दुईमत छैन। अझ त्यसमा पनि कालिकोटकै सबैभन्दा दुर्गम क्षेत्र रम्नाकोट जहाँ पुराना बिचार र खिया लागेका मर्यादाले उज्यालो पाइसकेकै थिएनन । छोरिचेलीलाई पढाउनुहुन्न, शिक्षा दिएर पनि उपलब्धि के हुन्थ्यो र भन्ने एउटा बिभेदकारी बिचारको जञ्जाल भित्रै उम्रीएकी अल्किना शिक्षा हासिल गर्नकैलागि हदैसम्मको संघर्ष गरेकी थिइन। भाइलाई बोकेर बिद्यालय पुर्‍याउने र ल्याउने बहानामा बिद्यालय गएर पढ्ने गर्थिन अनि पानी बेचेर कापी कलमको जोहो गर्थिन।

कमता असहज थिएनन उनका ती बिद्यालय कालका दिनहरु पनि। उनी भन्छिन, एकतर्फ परिवार र समाज नै महिला शिक्षाको बिरोधि त्यसैमा अपर्याप्त आर्थिक अवस्था अनि छोरी प्रतिको बिबेधकारी दृष्टिकोणले पनि शिक्षा प्राप्त गर्नु आफैमा महान चुनौतीपूर्ण कुरा थियो। तथापी उनी समाजको असमान नीति र संस्कृतिलाई यसै स्वीकार गरेर हार मान्दै शिर झुकाएर छोरी हुनुको अपजसिलो कर्म मान्दै आफैलाई अन्धकारमा थन्क्याउन स्वीकार गर्ने छोरी थिइनन। उनी त एक योद्धा थिइन अनि क्रान्तिको उदगम थिइन। उज्यालोको एक सुनौलो झिल्का थिइन जुन उपयुक्त स्थान पाए चाँडै दन्किने वाला थियो।

जनवादी क्रान्ति तर्फको उनको लम्किदो यात्रा

वि सं २०५६ सालमा एस.एल.सि पास गरेलगत्तै उनी पार्टीमा लागेकी थिइन। हुनत उनिभित्र क्रान्तिकारी सोचको बिकास बिद्यालय समय देखिनै भैसकेको थियो । उनको घर परिवार सबै नेपाली कांग्रेस पक्षधर समर्थक भएता पनि उनको बद्लिदो बैचारिक लाभालाई सिमित परिधिभित्र समेट्न समर्थ थिएन। बिद्यालयका सबै साथिहरु जनवादी क्रान्तिका समर्थक भैसकेको बेला उनिभित्र परिवर्तनको त्यो ज्वाला नसल्किने कुरै थिएन। ज्वालामुखी जस्तै भयंकर सामार्थ्य साहित विकसित भएका थिए उनका बिचारहरु।

देशको सभ्यता कायापलट गर्न लम्किदै थिए उनका पाइलाहरु। जतिसुकै अंकुश लगावस परिवारले तर पनि उनीहरुको अंकुश कमजोर नै हुन्थे। अल्किना भागिभागी माओवादी कार्यक्रममा सहभागी हुन्थिन। उनलाई देशको सामाजिक प्रणाली देखि शासन प्रणालीसम्म पनि पटक्कै चित्त बुझ्दो थिएन अनि उनले यसलाई बदल्न तत्कालीन माओवादी पार्टिले उठाएका एजेन्डा र चालेका कदमहरु जायज ठानेर राष्ट्र परिवर्तन र निर्माणको अभियानमा जुटेकी हुन । अझै उनलाई उक्त अभियानमा सशक्त सहभागी हुन प्रेरित गर्ने अर्को थियो बोगटी हत्या काण्ड। उनको क्षेत्रमा कुम्भ बोगटी नामका एक स्वास्थ्यकर्मी आन्तरिक रुपमा माओवादी कार्यकर्ता पनि थिए।

उनले रातीको समय गोप्य रुपमा पार्टिको कार्यक्रम आयोजना गर्थे र संगठन बिस्तार गर्थे तर उक्त कुराको सुइँको प्रहरीसम्म पुगेकोले उनलाई प्रहरीद्वारा गाउँकै बिचमा बीभत्स हत्या गरिएको थियो। बोगटीका नाबालक छोराहरूले गरेको हारगुहार र बिन्तिभाउ उतिबेलाका सामान्ती अधिनायकवादी आँखाहरुले देख्न सकेनन अनि कान हरुले सुन्न सकेनन। जुन घटनाको ज्यादतीले उनको हृदयमा पोल्न सम्म पोलेको थियो। उनको कलिलो मानसपटलमा घोच्न सम्म घोचेको थियो।

जसको फलस्वरूप २०५७ साल जेठ ८ गते उनि १६ जना साथिहरु सहित राष्ट्रको सुनौलो भविष्यको लागि बलिदानिको अग्निमा होमिन गइन। क्रान्ती द्वारानै देशलाई बदल्छु भन्ने अठोटका साथ, समाजका काला धब्बाहरुलाई मेटाउने उदेश्यका साथ अनि पुस्तौंदेखिका बिभेदकारी अराजक सांस्कृतिक मर्यादा लाई रुपान्तरण गर्ने योजनाका साथ, सामान्ती र शोषक अधिनायकवादीको बिभेदकारी सत्ता च्युत गर्ने कल्पनाका साथ, उनको क्रान्तिकारी यात्राको औपचारिक सुरुवात थियो त्यो दिन ।

मृत्युसङ्ग लाफ्फा खेलेका ती दिन

अल्किना बम उर्फ बबिता पार्टिमा होमिइसकेपछी उनका बिद्यालय समयदेखिका प्रेमी क्रान्तिकारी र हक्की योद्धा खड्गराज सेजुवाल (विश्वप्रकाश) सङ्ग जनवादी विवाह भएको थियो। त्यतिबेला उनी कालिकोटमै कार्यरत थिइन । मैले उनको बारेमा लेखिएको एउटा आर्टिकल अध्यन गर्ने क्रममा भेटेको थिएँ जब कालिकोटको मुम्रा लेकबाट प्रहरीले उनी लगाएत उनका साथिहरुमाथी आक्रमण गरि लखेटेको थियो। त्यतिबेला जंगलमा भाग्ने क्रममा उनको ५ महिनाको बच्चा खस्न पुग्यो ।

जिन्दगी सुरक्षित गरि परिवर्तनको निम्ति छेडिएको युद्धलाई टुङ्गोमा पुर्‍याउने यात्रामा गरिएको त्यो उनको अर्को बलिदानी थियो। बच्चासङ्गै शरिरको प्राणरुपी रगत पनि अत्यन्तै बग्यो। उनका साथिहरुले उनलाई जंगलमै काठको स्ट्रेचर बनाई कुनै ओडारमा पुर्‍याएर गिज्याउँदै र काउकुती लाउँदै चिमोट्दै पछि लागेको मृत्युको आहारा हुनबाट बचाएका थिए। साहेद बलिदानिको मार्गमा उनिमाथी मृत्युले गरेको एउटा अप्रत्याशित प्रहार थियो त्यो ।

परिवर्तनको मार्ग आफैमा जटिल र चुनौतीपूर्ण छ त्यसमा पनि रक्तपातयुक्त क्रान्तिको त झन के कुरा र ? मृत्युपत्रमा हस्ताक्षर गरेर हिड्नुपर्ने अनि जहाँ जतिबेला जसलेपनी अनुमोदन गरिदिन सक्थ्यो त्यो मृत्युपत्रलाई । अनि मृत्युको बाटो हुँदै यमलोकको यात्रा सुरु। न त युद्धको कुनै निर्धारित नीति नियम थिए न त मृत्युको कुनै मापदण्डनै थिए । छाडा छोडिएका भोका सिंह जस्तै सरकारका सिपाहीहरुले जहाँ जतिबेला पनि सिकार बनाउन सक्थे । सबैका हातमा मृत्युका रक्तिम कलम हरु थिए । जतिबेला जसको पनि जिवनलिला समाप्त हुन सक्थ्यो । जनवादी क्रान्तिमा परिवर्तनको महत्वाकांक्षा बोकेर अघि बढिरहेका उनका प्रगतिशील पाइलाहरु कालिकोटबाट बाजुरा पुगेका थिए अखिल नेपाल महिला संगठनको नेतृत्व गरेर ।

उनले महिला संगठनको अध्यक्षता पश्चात् प्राप्त गरेको उच्च जिम्मेवारी संगै उनको जीवन मृत्युको जोखिम तर्फपनी उतिकै निकट भएको थियो । उनको हृदय बिधारक कथाभित्र अनेक परिस्थिति र मोड हरु यत्रतत्र छन, जहाँ उनले मृत्युलाई गिज्याई रहिन र उसले उनको पिछा गरिरह्यो । तैपनि मैले यहाँ उनका सिमित घटना परिघटनालाई समेट्ने कोसिस गरेको छु जसले आजका र अब आउने पिढिलाई समेत प्रेरणा दिन सकोस अनि बिजयको यात्रामा आउने चुनौती संग पौठेजोडि खेल्न सिकावस। हार सङ्ग सम्झौता गर्न सिकावस र जितको निम्ति भिड्न सिकावस। इतिहासले नै भविष्यको नयाँ मार्ग देखाउन सक्छ ।

कहाली लाग्दा उनका बिगत आज सम्झँदा पनि झस्काउने गर्छन उनको भनाइ थियो । भाग्यले बचायो या के ले थाहा छैन तर यमराजका अघोर मुखमण्डल सरहका शत्रुपक्षका राता ताता गोलिहरु हरु आएर छेउकै कयौँ साथिहरुलाई टिपि लिदासम्म आफुलाई केही भएन। तिनै मध्यको एउटा गोलि आफुलाई पनि त लाग्न सक्थ्यो तर लागेन। उसो त देश र समाज रुपान्तरणको लागी, सर्वहारा वर्गको उन्मुक्तिका लागी, शोषित र उत्पीडित को कल्याणको लागी अनि सुशासन र सुव्यवस्थाको लागि सिरमा कात्रो बाँधेरै हिँडेको म जीवन बलिदान गरेर सहिद बन्ने महान अपेक्षाको साथ लागेको थिएँ। मुलुक परिवर्तन हुनसक्छ भने बलिदानी दिनुमा पनि के हानीरु भन्ने प्रवल बिचारको साथ होमिएको योद्धा मृत्युको पटकपटकको प्रहार बाट बाँचिनु सौभाग्य या दुर्भाग्य ठम्याउन सकिँदैन। उनले भनिन…।

कालकोठरिमा कालदण्डको सहन

क्रान्तिकारी बिचार र युद्धको वातावरण अनि बलिदानिको प्रवल आकांक्षाले परिपक्व भएजस्तो भएतापनी उमेरको आधारले त भर्खरको पलाउदै गरेको मुना मात्र थिईन । न त जेलको अनुभुती न त हत्कडी अनि न कहिल्यै यातनाको साक्षात्कार । सबैकुराको देखाई र भोगाई नौलो थियो र अप्रत्याशित जस्तै थियो । झन रिसको झोकद्वारा आक्रान्त भएका साँढेहरुको बिचमा जिवनको अस्तित्व जोगाउनु हरकोहिको लागि सहज छैन जुन उनले भोगेकी थिइन।

उनले स्मरण गर्दै भनिन, बझाङ जिल्लामा महिला संगठनको अध्यक्षको रुपमा पार्टिको जिम्मेवारी वहन गरिरहेको बेला पार्टिले एकतर्फी युद्धविरामको घोषणा गरेको थियो। त्यतिबेला ज्वालामुखिको लाभा जस्तै निस्किएको अनि समुद्रको लहर जस्तै फैलिएको नरसंहारक युद्धबाट विश्राम र शान्ती पार्टिको एकतर्फी फैसला थियो तर सरकारबाट भने त्यसको एकरत्ति पनि संकेत देखिएको थिएन । बझाङ जिल्ला प्रशासनमा अखिल क्रान्तिकारी महिला संगठन र अखिल क्रान्तिकारी विद्यार्थी संगठनको ज्ञानपत्र बुझाउनुपर्ने जिम्मेवारीमा पार्टिले खटायो।

तत्कालीन जल्दोबल्दो रक्तपातको परिस्थिति सङ्ग राम्रैसङ्ग परिचित भएतापनी त्यो कार्यकोलागी हामी खटियौँ । थाहा थियो जिन्दगी जतिसुकै बेला जेसुकै पनि हुनसक्छ । हाम्रो सांसारिक अस्तित्व जुनसुकै बेला पनि समाप्त हुन सक्थ्यो तर त्यसमा हामिलाई कुनै चिन्ता थिएन । व्यक्तिगत उपलब्धि र स्वार्थ भन्दा निकै पर पुगिसकेका हामी शिरमा कात्रो अनि पिठ्युँमा कफन आफैले भिरेका थियौं। मृत्युको भए नभएतापनी जब यमदुतको शारीरिक र मानसिक यातनाको चपेटामा परिन्छ तब मात्रै वास्तविक मृत्युको रौद्र स्वरुपसङ्ग परिचित हुँदो रहेछ। आजपनी ती दिन सम्झिदा शरीरमा काँडा फैलिन्छन । कोहि डरलाग्दो सपनाबाट झस्किएर ब्युझिए जस्तै धड्कनको चापले मुटुको भित्ता फोड्ला जस्तै गरि ठोक्दछ। उनले दिएको सहज अभिव्यक्तिमा गहिरो भावुकता छल्किरहेको थियो। अनि त्यो बिगतका दृश्य फेरि एकपटक उनको अनुहारमा दौडिरहेका थिए।

साउन महिनाको समय, बिहानिमा घाम देखिएता पनि केहिछिनमै मौसम फेरिएर सिमसिमे पानी पर्दै थियो। मुलुक र मानव सभ्यताको व्यवस्था बदल्न निस्केका हामीलाई महसुस नै भएनकि मौसम सङ्गै हाम्रो जिवनको व्यवस्था पनि चाँडै बद्लिनेवाला छ। परिस्थितिले त्यो चुनौती खडा गर्नेछ जुन हाम्रो कल्पना भन्दा निकै पर छ। युद्ध भुमिमा उक्लिएका योद्धाको लागि निश्चित परिणाम दुवै हुन्छन या त बिजय या त मृत्यु । तर नियतिले त सपना र योजनाको खानी बोकेर ओर्लिएका योद्धालाई त्यो परिस्थिति दिलायो जहाँ न जीवन थियो न मृत्यु नै। थियो त केवल राक्षसरुपि दुश्मनहरुका कठोर निर्दयी बुटहरु। मानवताको खिल्ली उडाउने अश्लील शब्दहरु थिए अनि केवल अन्धकार र मृत्युको कल्पना मात्र थियो। हातमा हतकडी र सतहभरी पानी थियो।

आज पनि सम्झना ताजै छ। म सहित पाँचजना साथिहरु चैनपुर तर्फ हिँडेका थियौँ क्रान्तीलाई सान्तिमा बदल्ने ध्ययका साथ। दासताका बन्धन र सामन्ती अधिनायकवाद लाई खारेज गर्दै नयाँ व्यवस्थाको सुरुवातको रङ्गिबिरङ्गि सपनाको साथ। अरु त के हुन्थ्यो र साथमा भएको झोलासम्म पनि साथमा नलिएर गएका हामी ज्ञानपत्र बुझाएर एक क्रान्तिकारीको उत्तरदायित्व पूरा गरि फर्केर खाना खाने उदेश्यमा थियो। तर थाहा थिएन त्यो योजना केवल योजनामा मात्रै सिमित हुनेवाला थियो। त्यो खाली पेट भरिन पाउने पनि एक महान सपना मात्रै हुने थियो । हामि उदेश्य बोकेर चैनपुर पुग्नुभन्दा अगावै हाम्रो सुचना त्यहाँ पुगिसकेको रैछ। जताततै हल्लाखल्ला मच्चिसकेको रैछ। चैनपुर खुल्ला मञ्चमा पुगेका मात्र के थियौँ चारैतिर तत्कालीन शाही नेपाली सेनाले घेरा हालिसके। न त हतियार थिए हातमा न त भाग्नलाई कुनै मार्ग नै। विकल्प भन्नूनै गिरफ्तारी स्वीकार गर्नु थियो अनि आत्मसमर्पण गर्नु थियो।

अपहरणको शैलीमा शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेपछि हामिले सम्झायौँ। पार्टिले युद्धविराम को घोषणा गरेको छ। हामी यहाँ सान्तिपुर्वक आफ्नो मागपत्र पेश गर्न आएका विद्यार्थी हौँ। दिनभरी हामिलाई खुल्ला मञ्चमा राखियो हातमा हतकडी अनि आँखामा पट्टि बाँधेर। कुरा हुँदै छ, निर्णय हुँदै छ भन्दै दिन बितेपछी साँझको चार बज्न लागेको बेला हिरासतमा लग्यो। मलाई थाहा थिएन हिरासत कस्तो हुन्छ, यातना कस्तो हुन्छ। सबै भोगियो एकैपटकमा। यतिसम्म भोगियो जति हरकोहिको क्षमताको दायरा भन्दा निकै पर हुन्छ।

जमिन मुनिको बसाई, आँखामा पट्टि अनि हातमा हतकडी। दिन या रात केही थाहा नहुने स्थिती। यातना पनि यतिसम्म पाइन्थ्योकि बङ्कर भित्र केवल चीत्कार मात्र सुनिन्थ्यो अनि उनका अश्लील शब्द मात्र। खाली पेटले दाना अन्न सम्म पाएन। बर्षाको समय सतहदेखी शरीरसम्म पानीनै पानी थियो । तथापि क्रन्दनले सुकिसकेको घाँटिले थोपा पानी सम्म पाएन । तीन दिनको एकपटक नुन पानी पाइन्थ्यो सास बचाउन त्यो पनि अनगिन्ती गाली र कान छेड्ने तिखा शब्दहरुको साथमा। न त बाच्ने स्थिती थियो न त मृत्युनै पाइन्थ्यो । नमागेको पनि होइन तर माग्दापनी मृत्यु पाइएन त्यो कालकोठरिमा। राक्षसहरुका बुट र डन्डा भने अनगिन्ती पाइयो। डर अनि घिन दुवैको सवार एकैपटक हुन्छ सम्झिदा पनि। शरीरमा काँडा उम्रीन्छन, मुटु काँप्न थाल्छ।

हामिले सोचेको थियौं, युद्वविराम छ कुरा साम्य हुनेछ अनि कालकोठरिबाट निस्किने छौँ तर हाम्रा सोच केवल खोक्रा चाहाना जस्तै भए। उनीहरुको यातनाले शरीर सिधिल र अचल भैसकेको थियो। निलडाम भन्दा अरु चिज शरीरमा थिएनन। लगाएको एकसरो लुगापनी उनीहरुको यातनाले जिर्ण भैसकेका थिए। उनिहरुले बयान लिन्थे एक्लाएक्लै पारेर। हामी साथिहरुको आपसी सल्लाह थियो जसरिपनी यथार्थ गोप्य राख्ने अनि पार्टी र पार्टिको अभियान बचाउने। तर साथिहरुक अनि पार्टी र पार्टिको अभियान बचाउने। तर साथिहरुको बयान कहिँ न कहिँबाट संकास्पद बन्थ्यो जसको फलस्वरूप यातनाको दर बढ्थ्यो। यस्तै रितले त्यो जमिनमुनिको पानीको आहालमा एघार दिन बितेको मात्र के थियो युद्धविराम पनि भङ्ग भैदियो। त्यतिबेला सम्म त आँखाको रोशनी मात्र छेकिएको लाग्थ्यो तर अब जिवनकै रोशनी अलप भैसकेको थियो। आसाको दिप मरिसकेको थियो। उनको भनाइ थियो।

बाहिर बम गोला बर्सिन्थे । कयौं सेना मारिन्थे अनि कैयौंलाई मार्दथे । जब बाहिरको युद्धमा उनीहरुका साथिहरु मारिन्थे तब हामिमाथी उनिहरु आक्रोशका लप्काले लपेटिएका घाइते चितुवा जस्तै खनिन्थे। जसका छातिलाई गोलिले चुमे उनले एक जन्म गुमाए अनि एकपटक मृत्यु पाए । तर हामिले त कैयौं जन्म गुमाए जस्तो लाग्थ्यो अनि कयौंपटक मृत्यु पनि । न उज्यालो थियो अनि न ओभानो। सास मात्र फेर्न मिल्ने त्यो सास पनि जमिनमुनिको मात्र । न त्यहाँ मानवलाई मानवले गर्ने व्यवहार थियो न त मानवलाई राख्न लायकको स्थान नै। पशु राखिने ठाउँमा हामी निरहले हिंस्रक जनावरको हिंसा सहिरह्यौँ । हामी बिकल्पबिहिन थियौँ।

मृत्युको डरबाट अस्थायी उन्मुक्ति र पुनः हिरासत

आफ्नै शरीर समेत बिरानो भैसकेको थियो प्रत्येक दिनको यातनाले । यहि रितले तीन महिना सम्म कुनै ठोस आधार प्रमाण नपाएपछी पुन: नब्बे दिनको थुनुवा पुर्जी सहित कारागार पठायो सबैजना लाई। तब मात्र मृत्यु र बेपत्ता पारिने कुराको काल्पनिक चिन्तनबाट अलिकति मुक्ति मिल्यो। यातनाबाट छुटकारा नपाएतापनि जीवन यात्रा केही लम्बिने र जनवादी अभियानमा पुनः जोडि पाउने अलिकति भएपनि आसा पलाएर आयो । हिरासतको कालकोठरी र त्यहाँको जलमग्न बास भन्दा कारागारको खाना र बस्नमा भने केही हदसम्म मानवीय पन पनि देखिन्थ्यो। उनको कथन रोकियो अनि लामो सुस्केरा पश्चात् पुनः बोल्न थालिन । हामी केवल सुनिमात्र रह्यौँ।

कारागार बसेपछि हाम्रो मनमा गडेको मृत्युको बिभत्स काल्पनिक तस्वीर र बेपत्ता पारिने आसंका अब भने हलुका भएको थियो तथापी यातनाको दर घट्नु भने संकेत सम्म पनि देखिएन। हिरासतको यातनाले दुखाएको शरीर कारागार पुग्नुभन्दा पहिले देखिनै दुखाइको अनुभुति नहुने भैसकेको थियो। अब जिउँ आफ्नो जस्तो थिएन । शरीर थियो महसुस थिएन। सास थियो जीवन थिएन। भोक थियो भोजन थिएन। मानव थिए मानवता थिएन। प्रशासन थियो नीति थिएन अनि सरकार थियो न्याय थिएन। उनका पुराना ऐतिहासिक यात्राका यादहरुले हामिलाइ पनि पोलिरहे।

जस्तो होस जे होस कारागारको बसाईले उनलाई जिवनप्रतिको आसाको ज्योती पुनस् फर्काएर ल्याएको थियो। हरेक स्थान र हरेक स्थितिमा हरेक व्यक्ति सहि हुन सक्दैन। अनि हरेक परिस्थितिले व्यक्तिलाई साथ दिनपनी सक्दैन। त्यस्तै त्यहाँ पनि लागू हुन्छ। निभ्न लागेको तर बलजफ्ती बलिरहेको आसाको किरण माथी हुरि सवार गराउन फेरि कोहि आइपुगेका थिए त्यहाँ। उनीहरुको थुनुवा पुर्जिको समयावधि सकिन मात्र के पाएको थियो परिस्थितिले गोटि कुटनैतिक रुपना चालिहाल्यो। संगठनकै कोहि साथिहरु पनि समातिएर कारागार सम्म पुगे जसले उनीहरुलाई चिन्ने मात्रै होइन क्रान्तिकारी उनको अभियान र पृष्ठभुमि सम्बन्धि सम्पुर्ण नालिबेली सम्म जान्दथे। जसले उनीहरुले महिनौं सम्म सुरक्षित राखेका गोपनिय रहस्यहरुलाई ओकलिदिए। बबिताको भनाई थियो, ती साथिहरुले आफुलाई जोगाउन हामिलाई बलि चढाउन खोजेका थिए तर बुझ्नुपर्ने के पनि हो भने उनीहरुपनि आफुलाई सुरक्षीत त्यहाँबाट फर्काउन सक्ने अवश्य थिएनन।

रातिको करिब बाह्र बजे उनी र उनको अर्को महिला साथिलाई कारागारबाट निकालियो। कारण उनै गद्दार र गैरजिम्मेवार साथिहरुको बयान थियो। गद्दार क्रान्तिकारी हरुले भनिदिएकी उनीहरु मात्र माओवादी होइनन उनीहरुका श्रीमान पनि माओवादीका शक्तिशाली कमान्डर छन। तब पासा पल्टियो। आसा पोखियो। आँखाको पट्टिले त उज्यालो देख्न नदिएको महिनौं भैसकेको थियो झनै गद्दारका कपटपूर्ण बोलिले बिपत्तिको हुण्डरि बोकेर आए अनि आसाका किरण पनि निभाइदिए। तब अल्किना उर्फ बबिता अनि उनको साथिबाट पार्टिका रहस्यको बारेमा पत्ता लगाउन हदैसम्मका प्रयासहरु गरियो अनि सक्नेजतिको रणनीतिहरु पनि प्रयोग गरियो। उनीहरुलाई पार्टी छोडेको र श्रीमानसंग पनि सम्बन्धबिच्छेद भएको भनी सहि गर्न लगाउँथे तर आफ्नो सोच र विचारमा अडिग उनी हस्ताक्षर गर्न राजी भएनन। बेपत्ता पार्ने र ज्यान मार्ने कुरा नभएको पनि होइन तर कर्मविर बबिता र उनको साथिले बरु मृत्युको टीका स्वीकार गर्न तयार भए। गोलि खान तयार भए। पार्टीको अभियान, रणनीति र टिमको बारेमा कुनै संकेत दिएनन।

उनीहरुको कटिबद्धता बाट हारथाक भएको त्यहाँको प्रशासनले कर्मयोद्धा अल्किना र उनको साथिलाई फेरि पुरानै स्थान अर्थात हिरासतमा फर्कायो। अब जिवनको आसाको फिक्का दिप निभिसकेको थियो। मुलुकको व्यवस्था बदल्ने या युद्धमा सहिद हुने उनीहरुको रहरको घाँटी अब कालकोठरिमा निमोठिने कुरामा पक्का थिइन। हिउँदको समय, शरीरमा लुगा छैन। कहिले रातभर एक्लाएक्लै चौरमा राख्छ त कहिले कतै कहिले कतै एक्लाएक्लै। पल पल मरेर बाँचेजस्तो लाग्थ्यो। आँखाले उज्यालो देख्न पाएन, मुखले खानाको स्वाद पाएन अनि कानले राम्रो सुन्न पाएन। तर शरीरले सर्वव्यापी घामको अनुभुति गर्न पाउनुपर्ने त्यहिबाट पनि बन्चित गरियो। उनले भनिन।

हिरासतमा रहँदा पाँच दिनको एकपटक पाइन्थ्यो बासिभात त्यो पेटभरि त थिएन तर शब्दमा पनि पशुवत आवाजनै मिसिएका हुन्थे। खाना थिएन तर पानीसम्म दिए पनि त हुन्थ्यो। अर्को एउटा तितो घटनालाई सम्झिदै बताएकी थिइन। मेरो साथी बिरामी भएर अन्तिम सासमा पानीपानी उच्चारण गरिरहेको बेला कोहि मानवको अंश मिसिएको सिपाहीले पानी दिएको थियो र साथिले जिवनको अंश फिर्ता पाएकी थिइन। तर त्यो कुरा त्यहाँको अधिकारीले जानकारी पाएपछि त उसलाई सजाय भोगाई सरुवा समेत गरिएछ। जुन कुरा हामिले पछि मात्र सुन्यौं। साह्रै नमिठो लागेको थियो मानवले मानवतालाई सजाय दिएको सुनेपछि। खस्रो तवरले उनले भनिन।

मारिने वा बेपत्ता पारिने कुरामा कुनै संका थिएन। जीवन कर्कलाको पात माथिको पानी जस्तै ढलपल गरिरहेको थियो। कतिबेला कहाँ खस्ने एकिननै थिएन तर छिटो ढिलो खस्छ त्यसमा दुईमत थिएन। चारैतिर संगिनधारी कालमुखीहरु थिए अनि हाम्रो मनोकामना थियो कि हाम्रो अस्तित्व नष्ट भैहालेपनी पार्टी र जनवादी क्रान्तिको अस्तित्व नाश हुनुहुन्न, सर्वहारा मुक्ती आन्दोलन रोकिनुहुन्न, दासत्व मोचनको कडि तोडिनु हुन्न। त्यसैले हामिलाई मृत्युको माला पनि सहर्ष स्वीकार थियो। अल्किना बिगतका ती दिन सम्झाउँदै एकोहोरो बोलिरहिन अनि हाम्रा कानले प्रतिपल उनको इतिहास भित्रको गहिरो भावलाई समेट्नमै लिन भए।

हिरासत बसेको समयमा मानव अधिकारकर्मी हरुपनि त्यहाँ हाम्रो जानकारी लिन पुगेपछि हामीलाई अब भने मृत्युको त्रासबाट अझै थप मुक्ति मिलेको थियो। त्यो भन्दा पहिले पनि पटकपटक आएर फर्केका रहेछन् तर उनीहरुलाई तर उनीहरुलाई भित्र प्रवेश गर्न दिएको रहेनछ तर पछि उनीहरु बलजफ्ती हिरासत छिरेका रहेछन। हाम्रो मनमा गडेको मृत्युको बीभत्स काल्पनिक दृश्य र बेपत्ता पारिने आसंका अब केही हदसम्म पार लागेको थियो। तर यो पनि स्थायी हुनेवाला थिएन। कतिबेला यसको अस्तित्व पनि ओझेल पारिन्छ थाहा थिएन। तर बाँच्ने आसा पुनः पलाएको थियो।

अठार महिना पछि अचानक हिरासत बाट बाहिर निकालियो दुवैजनालाई। साथमा अरु कुनै कैदी थिए या थिएनन थाहा भएन। आँखाका पट्टि हरुले सतह कहिल्यै छोडेका थिएनन र त्यतिबेला पनि छुटेनन। उनका चर्का शब्द र प्रहारहरु बाहेक अरु कुनै अनुभव भएन। कहाँ पुर्‍याउँदै छ हामीलाई थाहा नै भएन। अचानक कुनै जानकारी बेगर बाहिर निकालिनु त्यो पनि युद्धको बेला त्यो कुनै राम्रो संकेत थिएन। अब भने हाम्रो जिवनको यो अन्तिम पल हो भन्ने कुरामा दुईमत नै थिएन। आँखामा पट्टी अनि हातमा हतकडी सहित बजार डुलायो। हामीलाई लगेर हवाई जहाजमा राखियो तर पनि थाहा थिएन हामी कहाँ जाँदै छौँ बस यति सम्म मात्र थाहा थियो जहाँ जाँदै छौँ मर्न नै जाँदै छौँ। हवाई जहाज दिपायल अवतरण गर्‍यो त्यहाँ बाट थप साथिहरु राख्यो अनि धनगढी अवतरण गरेर थप साथी त्यहाँ बाट पनि लियो। तत्पश्चात जहाज काठमाडौ अवतरण गरिएछ।

सबै क्रान्तिकारी फौजहरु लाई एर्पोट बाट बाहिर निकाल्नु अगावै बाहिरको मिडियाकर्मिहरुलाई हटाइयो ताकी कोहीले कैदिहरुको तस्वीर र जानकारी लिन नसकुन। त्यतिबेलामात्रै अलिकति पट्टि सारेर एउटा परिचीत साथिलाई हेरेर दुई शब्द बोल्ने अवसर पाएकी थिएँ। उनलाई धनगढी बाट लिइएको रहेछ। तर जब सबैलाई बाहिर निकालियो तब भने कहिल्यै त्यो परिस्थिति बनेन। क्याम्पमा सबैलाई बेस्सरी पिट्थ्यो अनि बिहान साथिहरु लाई गाडिमा हालेर लगिन्थ्यो कहाँ लगिन्थ्यो थाहा भएन तर साँझ कोहिलाई फर्काएर ल्याएन। सबैलाई मार्‍यो या के गर्‍यो थाहा छैन।

हाम्रो पनि पालो आउनेवाला छ थाहा थियो तर सौभाग्यवस त्यसो भएन। मानव अधिकारवादी हरुले फाइल तयार गरेर पठाएको रहेछन र आफ्नै दाजु त्यहाँ इन्सपेक्टर रहेछन जसको कारण त्यतिबेलासम्म उनिहरु सुरक्षित रहे। दाजु सरकारका सिपाही थिए अनि बहिनी हतकडिमा एउटा कैदी। सबैलाई मारियो, बेपत्ता पारियो तथापि उनी र उनको साथी बाँचे। त्यो भातृत्व प्रेम र मानव अधिकारवादीहरुको सकारात्मक प्रयासनै थियो। दाजुले बहिनी सुरक्षित गरे त्यसकारण उनको सरुवा भयो। अब उनीहरुलाई तनहुँ सारिदिन माग गर्न लगाइयो किनकी काठमाडौ भन्दा तनहुँ अझ सजिलो हुनेछ भनेर। माग राखेपछि ठूलो प्रयासको बाबजुद बल्ल तनहुँ सरुवा गरियो।

हेलिकप्टर बाट तनहुँ झारेपछी आँखाको पट्टि उतारियो। दुई बर्ष भन्दा अधिक समय आँखाले उज्यालो देखेका थिएनन। बल्लतल्ल आँखाको सतहबाट पट्टिको पकड हटाएर अन्धकारको जकड बाट मुक्त गरायो। दुई बर्ष पछिको उज्यालो रोशनिले आफैलाई अस्थिर बनाएको थियो। जमिन तलमाथि हल्लिएको जस्तो पाइला स्थिर थिएनन। अन्धकार सङ्ग राम्रै सङ्ग परिचित भएको मान्छेलाई भौतिक उज्यालो सङ्गको सामिप्यताले असहज पक्कै बनायो। उनको अभिव्यक्तिमा असहजता झल्किएको थियो। हल्लिरहेको अस्थिर शरीर लिएर तनहुँको जेलसम्म पुगियो तर त्यहाँ पठाउन भन्दा अगावै खजानाको मुद्दा लगाएर पठाएको रहेछ। पासा उनीहरुको पक्षमै पल्ट्यो अनि थप दुई बर्षको जेल सजायको फैसला सुनाइयो।

जेलबाट फिर्ता र धरातलिय जिवनको सुरुवात

दुई बर्षको जेल सजाय काटी सकेपछि उनी निस्किन तर कहाँ जाने थाहा थिएन। श्रीमान पनि जिउँदो छन या मरिसके केही अत्तोपत्तो छैन। जाने ठाउँ कहाँ छरु कसरी जानेरु के गर्ने र कसरी गर्ने भन्ने सम्म भेउ पाउन नसकेको बेला पुनस् काठमाडौ गएर दाजु सङ्ग बसिन केही समय। उनको घरपरिवार लाई पनि जानकारी भयो उनको बिषयमा तब उनलाई श्रीमान छोड्ने र अर्को सम्बन्ध स्थापित गर्ने दवाव उतिकै थियो। घर परिवारले उनको सम्बन्ध लाई बिच्छेद गर्नको लागि हदैसम्मको प्रयास पनि गरिरहे तर उनको कटिबद्धताले सयौं दवावलाई पनि नजरअन्दाज गरिदिइन। दवावको जिन्दगीबाट अझै उनी अभावको जिन्दगी तर्फ पनि निकट बनिन।

माइती र घर परिवार दुबै पक्षबाट अनुकुल सहयोग र समर्थनको संकेत नदेखेपछी उनी र उनका श्रीमान विश्वप्रकाश बिरेन्द्रनगर झरे । कसरी गरिखाने के गरिखाने केही टुङ्गो थिएन । भाडाको घरमा बसेर उनका श्रीमानले ब्रोइलर फाराम चलाउन थाले अनि उनी चाहिँ ठेलामा फलफुल र तरकारी बेच्न थालिन। जनयुद्धले थलिएको शरीरमा अभावको ताप उतिकै परेको थियो तर उनको साहस, आत्मविश्वास र आत्मबलले कहिल्यै हार्न दिएन। उनी दस नङ्ग्रा खियाउन, रातदिन दुख खेप्न तयार थिइन तर कोहिको अघि शिर झुकाउन र हार स्विकार्न कदाचित तयार भइनन। प्रगतिशील र परिवर्तनशिल बिचारकी धनी उनलाई जनयुद्ध र कालकोठरीतुल्य हिरासत अनि कारागारका यातना र दुखले धरातलिय जिवनको चुनौती दुखलाई सहजै आत्मसात गर्ने क्षमताको राम्रै बिकास भएको थियो।

उनले ठेलामा तरकारी र फलफुल बेचिरहँदा कैयौंपटक उनका परिचीत र आफन्तहरुका नजर ठोकिन्थे त्यहाँ र उनीहरुले खिल्ली उडाउँथे तर कर्मविर अल्किनालाई उनीहरुका चिप्ला बकम्फुसे खिल्ली र तर्कहरुले छुन पनि सक्दैनथे। अन्तरजातीय बिबाहलाई मुद्दा बनाएर कोल्टे फर्केका माइती र नातेदार प्रतिको उनको ठाडो प्रतिक्रिया थियो। जे गरि खाउँ र जसरी गरि खाउँ त्यो मेरो आफ्नो इच्छा र खुशिको कुरा हो। म जुनसुकै स्थानमा जेसुकै गरेर पनि आफ्नो जीवन स्वाभिमान र आत्मसम्मानको साथ निर्वाह गर्न सक्दछु।

उनका संघर्षका दिनहरु सजिला थिएनन तर उनको निम्ति असम्भव भन्ने पनि पक्कै थिएनन। कोहि सान्य मानिसको लागि असम्भव थियो होला तर अल्किना बम ९बबिता० को लागि ती चुनौतीका जस्तासुकै पहाड हरु पनि सामान्य टाकुरा मात्रै थिए। जित्नको लागि निस्केकी उनी हारलाई नजरअन्दाज गर्न त कोहिले सिकाउनै परेन। अभाव र संघर्ष सङ्ग पौठेजोडी खेल्नको लागि कोहिले बाटो देखाउनै परेन। उनको व्यापारमा बिस्तार हुँदै गयो। उनको लगनसिलता र मेहनतले सफलता चुम्दै गयो। ठेलाबाट किराना पसल र आज फेन्सी पसलमा स्थापित भइ भाडाको घरबाट आफ्नो घरमा स्थापित हुनुको साथै उनका श्रीमान खड्ग सेजुवाल ९विश्वप्रकाश० हाल कालिकोट पचाल झरना गाउँपालिकाका अध्यक्ष समेत जितेका छन। यो सबै जनयुद्धमा उनीहरुले गरेको त्यागको परिणाम थियो।

जनयुद्धले दुख सहन सिकायो संघर्ष गर्न सिकायो र जितका रणनीति बनाउन लगायो। आफ्नै हातले भाग्यरेखा कोर्न सिकायो। जनयुद्ध र त्यहाँको सैद्धान्तिक प्रशिक्षणले सहयोग र मानवीय मर्यादाको उच्च पालना गर्न सिकायो। आजको समयमा ससाना दुख र संघर्ष अनि हारहरु सङ्ग मुकाविला गर्नुपरेमा मैदान छोडेर भाग्ने मात्रै होइन जिवनकै अस्तित्वमा हमला गर्न पछि नपर्ने पुस्ताको लागि प्रेरक एक अमुल्य बिरंगना हुन। जसले मृत्यु जितिन। दुख र संघर्षको उपहास गर्दै अभाव र दवावको जिन्दगीलाई पनि आज एक सौन्दर्ययुक्त जिवनको धरातलमा ल्याई पुर्‍याइन। उनको जीवन कथा जनयुद्धका खाटो बसेका घाउहरुको एक ताततातो प्रतिनिधि उदाहरण हो। जनयुद्ध र जनवादी आन्दोलनको नासो हो।

जनयुद्धमा लडेर जिवनको बालिदानी दिएका अनगिन्ती साथिहरु र स्वयं आफ्नै जिवनको त्याग र बलिदानी अनि सुशासन र परिवर्तनको अपेक्षामा बलिदानी दिएका अनगिन्ती जिवनहरुलाई सम्झिदै, त्याग र बलिदानिले मागेको परिणाम सत्तासिन र अगुवा हरुले दिन सकेनन । जुन सुशासन र व्यवस्थाको लागि हजारौं जिवनहरु गोलिको सिकार भए, सुलिमा चढे आज त्यसको अपेक्षित उपलब्धि हासिल हुनसकेन । एकोहोरो गुनासो गरिरहेकी छिन एक अदम्य साहसयुक्त बिरंगना अल्किना बम ‘बबिता’ । जनयुद्धको सेलाउदै गरेको अदृश्य पिडायुक्त घाउ अल्किना बम बबिता।