भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी बलले उपस्थिति बढाउँदै

बैतडी, सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएको छन । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए । उनले भने, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ । जिल्लाको झुलाघाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रहरी नायब उपरीक्षक शाहले बताए । कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन् । नेपाल सरकारले पनि सोहीअनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।

सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको हो ।